काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ।
हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ।
आज बिहान ८ः३३ बजेको शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन्।
आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ।
चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको बताए। उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिने जानकारी दिए।
होली पर्व असत्यमाथि सत्यको जित भएको रुपमा पनि मान्ने गरिन्छ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ। २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ।
Shares

प्रतिक्रिया