समाज


पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

नेपालखबर
फागुन २१, २०८१ बुधबार २१:४४, काठमाडौँ

जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ।

बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट-२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो। सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्री प्रदान गर्ने गरिन्छ।

नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रबर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरुको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरुले प्रतिक्रिया दिएका छन्। नेपालको पर्यटन प्रबर्द्धनमा पुर्‍याएको योगदानका लागि अन्तर्राष्ट्रियस्तरमा सम्मानित गरिएकाले यो अवार्ड नेपालकै पर्यटन क्षेत्रका लागि गौरवको विषय भएको बताइएको छ।  

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताएका छन्। 

उनले भने, ‘पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्नपाउनु खुसीको कुरा हो। यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकारवाला निकायलाई गरिएको सम्मान हो। नेपालको पर्यटन सधैं नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ। यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ।’  

मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेकोसमेत बताएका छन्।

‘प्रविधिलाई समुदाय-सञ्‍चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु हाम्रो मुख्य लक्ष्य हुनेछ,’ मन्त्री पाण्डेले थपे।

मन्त्री पाण्डेले पर्यटनलाई समुदायमैत्री बनाउन, वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रबर्द्धन गर्न र हरित पूर्वाधारमा लगानी बढाउनका लागि काम भइरहेकोसमेत जानकारी गराएका छन्। 

मन्त्री पाण्डेले थपे, ‘हाम्रो नीति उत्तरदायी ट्रेकिङ, प्रमुख पर्यटन क्षेत्रमा फोहर व्यवस्थापन, तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित छ। साथै, कम चिनिएका गन्तव्यहरूसम्म सहज पहुँच सुनिश्चित गर्दै पर्यटनबाट हुने लाभलाई समान रूपमा वितरण गर्ने हाम्रो प्रयास रहनेछ।’  

यसअघि मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट-२०२५ मा सहभागिता जनाएका थिए। ‘लगानी वृद्धि, शान्ति सुनिश्चितताः विकासको उपयोग, भविष्य निमार्ण’ विषयक उक्त सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad