प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र संयुक्त राष्ट्र संघका प्रहरी आयुक्त फैसल शहकर तथा छनोट र भर्ती शाखा प्रमुख अता येनिगुनबिच भेटवार्ता भएको छ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा भएको भेटघाटको क्रममा संयुक्त राष्ट्र संघका शान्ति मिसनहरुमा नेपाल प्रहरीको सहभागीताका विषयमा छलफल भएको छ।
यस्तै आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल भएको प्रहरीले जनाएको छ।
युएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए।
आयुक्त फैसल शहकर र छनोट तथा भर्ती शाखा प्रमुख अता येनिगुनले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको जवाफ दिँदै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
युएन प्रतिनिधि मण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आएका हुन्।
उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए।
भ्रमणको क्रममा युएन प्रतिनिधि मण्डलले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
टोली नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनेछ।
Shares

प्रतिक्रिया