दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक युवक मृत फेला परेका छन्। रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर शत्रुधन महतोले जानकारीदिए।
हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्रको स्थायी ठेगाना रोल्पाको सुनछहरी गाउँपालिका ३ हो।
‘उनी फागुन १४ गते साँझदेखि सम्पर्कविहीन थिए,’ इन्सपेक्टर महतोले नेपालखबरसँग भने, ‘खोजतलासको क्रममा बिहीबार साँझ सवा ५ बजे उनको शव बिगु गाउँपालिकाको भिरमा फेला परेको हो।’
बिगुको लामाबगरबाट देउराली जाने बाटोको भिरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
‘उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भिरमा भेटिएको हो,’ इन्सपेक्टर महतोले भने, ‘शव पोस्टमार्टमको लागि पशुपति चौलागाइँ स्मृति अस्पताल चरिकोटमा राखिएको छ।’
घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान सुरु गरिएको उनले बताए। घटनास्थल इलाका प्रहरी कार्यालय लामाबगरबाट करिब पाँच किमी पूर्वतिर पर्छ।
Shares

प्रतिक्रिया