भारत उडिसाको घटनापछि त्यहाँ बसेर पढ्दै गरेका ३ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका छन्।
कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उनीहरू नेपाल फर्केका हुन्। साँझ करिब ८ बजेतिर जोगवनी नाका हुँदै ३ नेपाली नेपाल प्रवेश गरेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए।
फर्किएकाहरू विराटनगर १४का राजा यादव, सुनसरी इटहरीका सम्राट कर्ण र सप्तरीका लक्ष्मी साह भएको एसपी चिमरियाले जानकारी दिए । उनीहरू आफ्नो घर तर्फ लागेका छन् ।
साथीको मृत्यु पश्चात् त्रासका कारण आफूहरू नेपाल फर्किनु परेको समेत विद्यार्थीले बताएका थिए ।
शङ्कास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि कलेजले उनीहरूलाई निकालेको थियो।
लम्साललाई न्यायको माग गर्दै विराटनगरका विद्यार्थीले सीमा नाकामा प्रदर्शन समेत गरेका छन्।
Shares

प्रतिक्रिया