काठमाडौँको बबरमहलमा रहेको खानेपानी वितरण प्रणालीको पाइप फुटेको स्थलको खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरी तत्काल जनजीवन सहज पार्न निर्देशन दिएका छन्।
नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि 'होरिजोन्टल ड्रिलिङ' गर्ने क्रममा पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न भएको हो।
उक्त खबर पाउनासाथ पोखराबाट तत्काल काठमाडौँ आइ अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहल आइपुगेको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी बन्द गरिसकेको जनाएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, 'अहिले करिब ५० प्रतिशत पानी घटिसकेको छ। मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य, बज्राचार्य, केयूकेएलका सीईओ अशोककुमार पौडेल, पिआइडीका प्रमुख टिकाबहादुर चौधरीसहित मन्त्रालयको टोली पानी निकास र रोकथामका लागि बबर महलमै छौँ। पानी जमेर त्यहाँ रहेका सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको खबर प्राप्त हुनासाथ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई भल्भ बन्द गर्न तथा वास आउट खोल्न निर्देशन दिएको छु। हाल उक्त क्षेत्रमा पानी आपूर्ति बन्द गरिएको छ।'
पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवनहरू जलमग्न बनेको घटनाले गहिरो दु:ख लागेको उनले बताएका छन्। उनले सम्बन्धित निकायहरूले शीघ्र मर्मत गरी जनजीवन सुचारु गर्ने विश्वास व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया