समाज


कोसीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार भन्दा धेरै चरा

कोसीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार भन्दा धेरै चरा

नेपालखबर
माघ ३०, २०८१ बुधबार १०:३४, काठमाडौँ

कोसीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ। आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएको गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो।

कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को  चरा फेला परेका छन्। गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए। 

गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा-एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताए।

सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उनले बताए। 

सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।

कोसीटप्पुमा असोजदेखि पुससम्म पर्यटक चरा आउँछन्। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ। 

करिब ५० प्रजातिका बटुवा चरा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्रप्रमुख गौतमले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad