विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी विवाद आज पनि संवैधानिक इजलासमा पेसी चढाइएको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
कुमार रेग्मी र हरि फुयालले यस विवादको सुनुवाइमा नबस्ने घोषणा गरेका कारण उनीहरूबाहेकको इजलास गठन गरिएको हो। २०७७ सालदेखिको विचाराधीन यस विवादमा लामो समयदेखि पूर्ण सुनुवाइ हुन सकेको छैन। विभिन्न राजनीतिक शक्तिको चासो पनि जोडिएको यस मुद्दाको सुनुवाइ नभएकामा न्यायिक नेतृत्वले आलोचनासमेत खेप्नुपरिरहेको छ।
आज पनि संवैधानिक इजलासको पेसी सूचीमा चौथो नम्बरमा छ।
सुरुका मुद्दाले धेरै समय खाए चौथो नम्बरमा पालो नआउन पनि सक्छ।
उता आजै प्रधानन्यायाधीश राउतले न्याय परिषद्को बैठक पनि बोलाएका छन्। प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्मा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि पदेन सदस्य छन्।
संवैधानिक इजलासमा भएका दुई न्यायाधीश न्याय परिषद् बैठकमा जानुपर्ने भएकाले सुनुवाइको समय खुम्चिन सक्नेछ। यद्यपि, ४ बजेपछि मात्र बैठक बस्ने प्रधानन्यायाधीशनिकट स्रोतले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया