चितवनकाे इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा अचेल असला माछा देखिन छाडेको छ। केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम बढेपछि यहाँका असला माछा मासिएका हुन्।
विषादी हाल्ने र करेन्ट लगाउने क्रम नरोकिएपछि स्थानीय माछासहित जलचर प्राणीको संरक्षण गर्न लागिपरेका छन्। इच्छाकामना- २ का स्थानीयले शनिबार माछा संरक्षण समिति गठन गरेका छन्।
संरक्षण समितिले विषादी र करेन्ट प्रयोगले पार्ने असरबारे खोला आसपास बसोबास गर्ने स्थानीयलाई जानकारी गराउने, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी विषादी र करेन्ट प्रयोग गर्दा हुने हानिबारे जानकारी गराउन जनचेतनामूलक कार्यक्रम गर्ने, सूचना बोर्ड राख्नेलगायत काम गर्ने माछा संरक्षण समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए। सम्झाउँदा अटेर गरे समितिले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनलाई जानकारी गराउने उनले बताए।
गाउँपालिकाले पछिल्लो केही वर्षदेखि खोलामा विषादी नहाल्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गरेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। विषादी हाल्ने र करेन्ट लगाउने गरेमा वडा कार्यालय, गाउँपालिका कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको उनले बताए। विषादी हाल्ने र करेन्ट लगाउनेलाई कानूनी कारबाही गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
अर्का स्थानीय टीकाबहादुुर गुरुङले स्थानीय सरकारले रिग्दीको असला माछालाई संरक्षण गरी यसैलाई ‘ब्राण्ड’ बनाउन सकिने बताए। माछा संरक्षणका लागि स्थानीय सरकारले विषादी हाल्ने करेन्ट लगाउनेलाई पूर्ण रुपमा रोक्नुपर्ने उनको भनाइ छ। रासस
Shares

प्रतिक्रिया