अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका दलित युवा सत्येन्द्रकुमार रामलाई गृहमन्त्रीकै प्रत्यक्ष संलग्नतामा यातना दिइएको दाबी गर्दै बुधबार काठमाडौँको माइतीघरमा दलितहरूले विरोध प्रदर्शन गरेका छन्।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै खगेन्द्र सुनार नेतृत्वको ‘दलितका लागि दलित अभियान’ले प्लेकार्ड बोकेर नाराबाजी गरेको हो।
सर्लाहीकै नेहा रौनियारसँग प्रेमविवाह गरेका सत्येन्द्रलाई केटीका बुवा आफ्नो दल नेपाली कांग्रेसका मानिस भएकाले गृहमन्त्री लेखकले राज्यशक्तिको दुरुपयोग गरी दुःख दिइरहेको समाचार सार्वजनिक भएपछि दलित अधिकारकर्मी आन्दोलित भएका हुन्।
विरोध प्रदर्शनका क्रममा दलित अधिकारकर्मी खगेन्द्र सुनारले नेहा रौनियारसँग विवाह गरेका सत्येन्द्र रामलाई गृहमन्त्री लेखकले अत्याचार गरेको आरोप लगाए। साथै उनले दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग पनि गरे।
यस क्रममा सुनारले पीडितले न्याय नपाउँदासम्म आफूहरूको आन्दोलन जारी रहने बताए।
यस्तै उनले कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिइने पनि बताएका छन्।
यसैबीच सुनारले गृहमन्त्रीको विरोध गरेका कारण आफूलाई पक्राउ गर्ने तयारी भइरहेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘मलाई पक्राउ गर्ने तयारी भएको खबर प्राप्त भएको छ।’
तर उनले आफूलाई पक्राउ गरेर देखाउन गृहमन्त्री लेखकलाई चुनौती दिएका छन्।
गृह मन्त्रालयले भने मंगलबार नै विज्ञप्ति जारी गरी अन्तरजातीय प्रेम विवाहको घटनामा गृहमन्त्रीको कुनै हात नरहेको दाबी गरिसकेको छ।
तर यस घटनामा राष्ट्रिय मानव अधिकार आयोगले समेत छानबिन गरिरहेको छ।
Shares

प्रतिक्रिया