प्रेमविवाह गरेका सर्लाहीका दलित-गैरदलित जोडी सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भइरहेको समाचार सार्वजनिक भइरहेका बेला उनकै दल नेपाली कांग्रेसको ‘दलित समुदाय समन्वय तथा सशक्तीकरण विभाग’ले भने घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
विभागकी प्रमुख लक्ष्मी परियारले विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन्।
अछाममा सरस्वती पूजाका बेला विद्यालयमा दलितलाई भएको जातीय विभेदको घटनासमेतलाई जाडेर परियारले विज्ञप्तिमा लेखेकी छन्, ‘घटनामा राज्यका संयन्त्रहरूकै दुरुपयोग भएको देखिनुले समाजमा रहेको विभेद र अत्याचारको अवस्थालाई थप उजागर मात्रै गरेको छैन, दलित समुदायले सदियौँदेखि भोगरिहेको जातीय विभेदको व्यवहार विद्यमान रहेको तथ्य स्वतः प्रमाणित भएको छ। यस्ता मानवताविरोधी, गैरकानुनी व्यवहार र घटनाप्रति गम्भीर आपत्ति र निन्दा व्यक्त गर्दै भर्त्सना गर्दछौँ।’
अन्तरजातीय प्रेमविवाह गरेका सत्येन्द्र र नेहाको जीवन रक्षाको माग गर्दै दलित विभागकी प्रमुख परियारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।
उनले भनेकी छन्, ‘घटनामा संलग्न जो कोही व्यक्ति, परिवार र निकायलाई कानुनी कारबाहीको दायरामा ल्याई आवश्यक छानबिन गर्न र पीडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्थासँगै विवाह गर्ने दम्पतीको जीवन रक्षा गर्न, गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।’
यसैबीच गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गरी घटनामा गृहमन्त्री रमेश लेखकको संलग्नता परको कुरा, घटना थाहासमेत नभएको दाबी गरेको छ।
साथै यस विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक भए थप छानबिनसमेत गर्न गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
यसलाई कांग्रेसको ‘दलित समुदाय समन्वय तथा सशक्तीकरण विभाग’की प्रमुख परियारले ‘सकारात्मक’ भनेकी छन्।
सांसदसमेत रहेकी परियारले लेखेकी छन्, ‘...यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक भए थप छानबिन गर्नसमेत प्रहरी महानिरीक्षकलाई निर्देशन गर्नुभएकोले गृहमन्त्रीज्यूको यस कदमलाई सकारात्मक रूपमा लिएका छौँ। उक्त घटनालाई न्यायपूर्ण छानबिन गरी पीडितलाई कानुनबमोजिम न्याय प्रदान गर्नुका साथै उचित क्षतिपूर्ति र विवाहित दम्पतीको जीवन रक्षा र शान्ति सुरक्षाको समेत प्रत्याभूति दिलाउन हार्दिक अपिल गर्दै अछामको विद्यालयमा सरस्वती पूजाका दिन भएको घटनालाई समेत छानबिन गर्न अनुरोध गर्दछौँ।’
Shares

प्रतिक्रिया