समाज


हमासले छाड्यो थप ८ बन्धक, अर्को चरणमा विपिन जोशी पनि छुट्ने आशा

हमासले छाड्यो थप ८ बन्धक, अर्को चरणमा विपिन जोशी पनि छुट्ने आशा

विपिन जोशी र उनकी आमा


नेपालखबर
माघ १८, २०८१ शुक्रबार ९:३०, काठमाडौँ

गाजास्थित हमास समूहले थप ८ बन्धकलाई मुक्त गरेको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासले बिहीबार साँझ ५ जना थाई र ३ जना इजरायली नागरिकलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा रिहा गरेको हो। 

तर हमासले नेपाली नागरिक विपिन जोशीलाई छाडेन। 

सट्टामा इजरायलले पनि बिहीबार साँझ ११० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ।

इजरायल र प्यालेस्टिनी हमास समूहबीच जनवरी १९ देखि युद्धविराम भएको छ। त्यसयता दुवै पक्षले आआफ्ना नियन्त्रणमा रहेका मानिसलाई सट्टाका रूपमा मुक्त गरिरहेका हुन्। 

बिहीबार साँझ हमासले तेस्रोपटक ८ जना बन्धकलाई मुक्त गरेको हो। यसअघि हमासले पहिलो दिन जनवरी १९ मा ३ जना, दोस्रोपटक जनवरी २५ मा ४ जनालाई रिहा गरेको थियो। सबै गर्दा अहिलेसम्म उसले आफ्नो नियन्त्रणमा रहेकामध्ये १५ जनालाई मुक्त गरिसकेको छ।

युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जनालाई छाड्नुपर्नेछ। अब चौथो चरणमा विपिन जोशी पनि छुट्ने अपेक्षा इजरायलमा रहेका राजदूत धनप्रसाद पण्डितले गरेका छन्। 

राजदूत पण्डितले ‘शनिबार हुने अर्को आदानप्रदानमा विपिन छुट्छन् भन्ने आशा रहेको’ बीबीसीसँग बताएका छन्।

इजरायलका सञ्चारमाध्यमका अनुसार हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भइसकेको छ। तर विपिन जोशी जीवितै रहेको इजरायली अधिकारीले बताइरहेका छन्। 

हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेर नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जनालाई  लगेको थियो।

आक्रमणका बेला १० नेपाली विद्यार्थी भने मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad