समाज


लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गर्ने थप दुईजना भारतबाट पक्राउ

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गर्ने थप दुईजना भारतबाट पक्राउ

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १०:३७, काठमाडौँ

काठमाडौँको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुईजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो। 

आक्रमणमा संलग्न समूह अजयकै योजना र निर्देशनमा परिचालित भएको खुलेको छ। उनीहरू आक्रमणपछि झापा पुगेर दुर्गा प्रसाईँको घरमा लुकेका थिए। तर खोज्दै प्रहरी पुगेपछि उनीहरू भने त्यहाँबाट भाग्न सफल भएका थिए। दुर्गा प्रसाईँको घरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। 

त्यसपछि भारत भागेका दुवै जनालाई प्रहरीले हरियाणाबाट पक्राउ गरिएको जनाएको छ। 

फलामको सक प्रहार गरी व्यवसायी लामालाई गम्भीर घाइते बनाएको आरोपमा उनीहरूसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ।

नुवाकोटको ककनी गाउँपालिका ४ का ३३ वर्षीय अजय लामा, नुवाकोटकै बेलकोटगढी नगरपालिका १२ घर भई टोखा बस्ने ३० वर्षका मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाको आरुघाट ७ का २४ वर्षीय दीपक बरामु, गोरखाकै २८ वर्षीय निश्चल सुनार, सुनसरीको धरान उपमहानगरपालिका १३ घर भई बेलायतमा बसोबास गर्ने ५० वर्षकी लक्ष्मी राई, धादिङको ज्वालामुखी गाउँपालिका ४ का रमेश सिलवाल र गोरखा आरुघाट गाउँपालिका ८ का ३० वर्षका सिजन अधिकारी प्रतिवादी छन्। 

यीमध्ये मुख्य योजनाकार भनिएका रमेश र लक्ष्मी अझै फरार छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad