समाज


रवि अब रूपन्देही जानुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी

रवि अब रूपन्देही जानुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी

काठमाडौँ जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका रवि लामिछाने। तस्बिर: सरोज बैँजु


उजिर कार्की
माघ २, २०८१ बुधबार २०:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब सुप्रिम सहकारी ठगीको मुद्दाको प्रतिवादका लागि रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले बिहीबार नै अभियोगपत्र दायर गर्ने तयारी गरेको हो। 

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले सार्वजनिक बिदा भए पनि हिजो र आज अभियोगपत्रलाई अन्तिम रूप दिने काममा लागिरहेको बताए। अब जतिसक्दो छिटो दर्ता गर्ने उनको भनाइ छ। मंगलबार र बुधबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा भएकाले बिहीबार दर्ता गर्न सकिने उनको भनाइ छ। ढिलोमा शुक्रबार पुग्न सक्ने उनले नेपालखबरसँग बताए।

रूपन्देही अदातलमा अभियोग पत्र दर्ता भएपछि रवि अब त्यहीँ हाजिर हुनुपर्नेछ। उनलाई काठमाडौँ जिल्ला अदालतले पनि रूपन्देहीमा आफैँ उपस्थित हुने मौका दिएको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा पनि अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कास्की सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको मुद्दामा पुर्पक्षका लागि थुनामा नजाने आदेश भएमा प्रहरीको जिम्मा लगाइदिन माग गरेको थियो। तर अदालतले उनलाई रिहा गर्ने आदेश दियो। अदालतको आदेशपछि रविलाई काठमाडौँ प्रहरी परिसरमा हाजिर हुने कागज गराएर कास्की प्रहरीले बिहीबार रिहा गरेको थियो। 

त्यसको ४ दिनपछि आइतबार मात्र रवि काठमाडौँ अदालतमा हाजिर भएका थिए। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा उनीविरुद्ध ५ करोड ८ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरेर मुद्दा दर्ता भएको छ। अदालतले बुधबार उनलाई कास्की अदालतले भन्दा ५ लाख कम अर्थात् ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतले माग गरेको धरौटी तत्कालै बुझाएर उनी रिहा भइसकेका छन्। 

इलाका प्रहरी कार्यालय, बुटवल, रूपन्देहीले सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान सकेर गत बिहीबार नै प्रहरीलाई रायसहितको प्रतिवेदन बुझाइसकेको छ। त्यसको एक सातापछि मात्रै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्न लागेको हो। 

त्यहाँ रविविरुद्ध ४ करोड १० लाख बढी बिगो कायम गर्न प्रहरीले राय दिएको थियो। त्यसमा बिगो केही थपघट हुने देखिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ। 

सुप्रिम सहकारीमा पहिल्यै २८ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भइसकेको छ। अहिले थप १४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागिएको हो। नेपाल प्रहरीका पूर्वडीआईजी एवं रविका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि दोस्रो चरणको मुद्दामा प्रतिवादी बनाउन लागिएको छ। उनलाई पनि रविलाई जति नै बिगो कायम गर्ने तयारी छ।

सुप्रिम सहकारीको १ अर्ब १२ करोड रूपैयाँ संगठित तवरले ठगी गर्ने गिरोहमा रवि सामेल रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। त्यहाँ पनि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गर्न लागिएको छ। 

सम्पत्ति शुद्धीकरणमा भने कास्की अदालतमै मुद्दा दायर भइसकेकाले अन्यत्र नचलाइने भएको छ।

रविसमेत मुछिएको सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय, चितवन र पर्साले पनि अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छन्। अब बुटवलमा सकिएपछि चितवनमा मुद्दा दर्ता गर्ने र त्यसपछि पर्सामा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad