समाज


सुप्रिम सहकारीमा रवि र छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, जनही चार करोडभन्दा बढी बिगो

सुप्रिम सहकारीमा रवि र छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, जनही चार करोडभन्दा बढी बिगो

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १६:१७, काठमाडौँ

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान पनि प्रहरीले टुंगो लगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाएको बताए।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले अनुसन्धान प्रतिवेदन प्राप्त भएको बताउँदै अभियोजनका लागि तयारी गरिरहेको बताए।

पुरक अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय छ। दोस्रो चरणमा प्रतिवादी बनाइएकामा रवि र छवि बाहेक ६ जना इलाका प्हरी कार्यालय बुटवलको हिरासतमा छन्। 

यसअघिको पहिलो चरणको अनुसन्धानमा २८ जनाविरुद्ध अभियोग दर्ता भएको थियो। दोस्रो चरणको अनुसन्धानपछि यो मुद्दाको बिगो पनि थप भएको छ। पहिलो चरणमा जम्मा बिगो १ अर्ब ३ करोड रहेकोमा ९ करोड बिगो बढेको छ। अब जम्मा बिगो १ अर्ब १२ करोड बढी कायम भएको छ।

प्रतिवादी रवि लामिछाने र छविलाल जोशीको हकमा पनि छुट्टा छुट्टै बिगो कायम गरिएको छ। लामिछानेको हकमा प्रहरीले ४ करोड बढी बिगो कायम गरेर पठाएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ।

लामिछानेलाई भन्दा बन्जाडेलाई ७/८ लाख बढी बिगो कायम गरिएको छ। दुवै जनाको हकमा व्यक्तिगत दायित्व करिब २ करोड र सामूहिक दायित्व २ करोड जति नै गरी ४ करोड बढी बिगो कायम भएको स्रोतले जानकारी दिएको छ।

उनीहरूमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गर्न प्रहरीको राय छ। सम्पत्ति शुद्धीकरणमा कास्की अदालतमै मुद्दा दायर भइसकेकाले रुपन्देहीमा नहुने भएको छ।

त्यहाँ देखिएको केही कारोबार पनि थप बिगो कायम गर्न कास्की नै पठाउने तयारी छ। अब प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा केहीदिनपछि सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गर्ने जिल्ला न्यायाधिवक्ता पौडेलले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि र छविसहितका ७ प्रतिवादी धरौटीमा रिहा भएका छन्। लिला पछाई पनि शुक्रबार धरौटी बुझाएर रिहा भएको कास्की प्रहरीले जानकारी दिएको छ।
रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा र छविलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। आदेश आएको केहिबेरमै धरौटी बुझाएर उनीहरू रिहा भएका हुन्।

अब उनीहरू जिल्ला अदालत काठमाडौँमा हाजिर हुने भएका छन्। अदालतमा आफैँ हाजिर हुने गरी उनीहरूलाई कास्की प्रहरीले रिहा गरिदिएको हो।

रुपन्देही, काठमाडौँ, चितवन र पर्सा प्रहरीले कास्कीको मुद्दामा रिहा भएपछि रवि र छविलाई उपस्थित गराइदिन पत्राचार गरेका थिए। तर अदालतले आदेशमा यो विषयमा मौन रहेपछि प्हरीले उनलाई रिहा गरेर आफैँ उपस्थित हुन मौका दिएको हो।

अब रवि र छवि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने तयारीमा छन्। काठमाडौँ अदालतमा रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगोसहित सहकारी ठगी र संगठित अपराधकै कसुरमा अभियोग दर्ता गरिएको छ।

काठमाडौँको मुद्दा सकिएलगतै रुपन्देही अदालतमा उनीहरू उपस्थित हुनु पर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad