समाज


काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध थुनछेक बहस जारी

काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध थुनछेक बहस जारी

काठमाडौँ जिल्ला अदालत


नेपालखबर
पुस २९, २०८१ सोमबार ११:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा अहिले (सोमबार) थुनछेक बहस भइरहेको छ। 

रविविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो। 

यतिबेला रविविरुद्ध जिल्ला सरकारी वकिलका तर्फबाट बहस भइरहेको छ। 

रविविरुद्ध बहस गर्नेको सूचीमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जना अधिवक्ता छन्। 

उनीहरूलाई न्यायाधीश अधिकारीले २ घण्टाभित्र बहस सक्न निर्देशन दिएका छन्। बहस बिहान ११ बजेपछि सुरु भएको हो। 

सरकारी वकिलको बहसपछि रविका पक्षबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन्। उनीहरूका लागि न्यायाधीश अधिकारीले सवा १ घण्टा समय दिएका छन्। 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।कालिमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ मा मुद्दा दायर भएको थियो । 

यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका थिए। आइतबार बयान भए पनि बहस हुन सकेको थिएन।

अदालतले हिजो उनलाई न्यायिक हिरासतमा पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad