जिल्ला अदालत काठमाडौँको इजलास नं ६ मा दिउँसो साढे तीन बजे रवि लामिछानेको बयान सकिएर पनि उनलाई पढीवाची सुनाइसकिएको थियो। त्यसमा कहाँकहाँ सच्याउनु थियो रवि आफैँले हेरेर इजलास अधिकृतलाई सच्याउन लगाइरहेका थिए।
बिहान ९ बजेपछि पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा हाजिर भएका थिए। गत बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट मुक्त हुँदा उनले आफैँ उपस्थित हुने सर्तमा कागज गरेका थिए।
उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा गतसाता नै अभियोग दर्ता भइसकेको थियो। उनलाई ५ करोड ८ लाख रूपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।
त्यतिबेला कास्की प्रहरीको हिरासतमा रहेकाले उनी त्यहाँको मुद्दामा थुनछेक आदेशपछि मात्रै काठमाडौँमा हाजिर भएका हुन्। ६५ लाख धरौटी बुझाएका उनले काठमाडौँ अदालतमा आफैँ उपस्थित हुने सहुलियत पाए।
आइतबार उनी चाँडै अदालतमा पुग्नुको कारण थियो– आजै बयान सकेर थुनछेक आदेश टुंगो पनि लगाउने। उनी बिहानै पुगे पनि इजलासको टुंगो नै ११ बज्न आँट्दा मात्रै लाग्यो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको मुद्दाको पेसी पहिलो नम्बरमै तोकियो।
त्यसको डेढ घण्टा उनी इजलासमा बसिरहनु पर्यो। न्यायाधीशले बयानको तयारी गरे। इजलासमा दिनको सुरुवात नै उनले सोचेजस्तो भएन। त्यही कारण उनी कास्की अदालतबाट थुनामुक्त भएको तेस्रो दिनमा हिरासत फर्किने संकेत देखिँदै गएको थियो।
उनले हिरासत नबस्न गरेको प्रयास असफल हुँदै थियो। अन्ततः काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामो छलफलपछि रविलाई आज प्रहरीको जिम्मा लगाइदिने आदेश दियो। भोलि उनलाई प्रहरीले १० बजे नै इजलासमा उपस्थित गराउने छ। अनि न्यायाधीश अधिकारीकै इजलासमा थुनछेक बहस हुनेछ। भोलि पनि थुनछेक बहस नसकिएमा रविलाई हिरासतमै फर्काइने छ।
थुनछेक बहस सकिएर आदेश आएमा भने सोही अनुसार हुनेछ। तर त्यसअघि आइतबार इजलासमा निकैबेर उनलाई हिरासतमा राख्ने कि कसैको जिम्मा लगाएर पठाइदिने भन्ने विषयमा त्रिपक्षीय सवालजवाफ भयो।
साढे १२ बजेपछि कठघरामा उभिएका रवि त्यसपछि इजलासमा बसेका थिएनन्।
बहस सुरु हुने विषयमा छलफल चलिरहँदा पनि उनी सोही ठाउँमा उभिइरहेका थिए। उनी उभिएको उभियै हुँदा न्यायाधीशले हिरासत पठाउने आदेश सुनाइदिए।
तर त्यसअघि उनले आफूलाई हिरासत नपठाउन निक्कै बिन्ती गरेका थिए।
‘साढे ३ बज्यो के गर्ने होला त?’ भित्ताको घडी हेरेपछि न्यायाधीशले भने।
पूर्वमहान्यायाधिवक्ता समेत रहेका सुशील पन्तले अर्का वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठतिर इसारा गर्दै भने, ‘हामी दुईजनाले मात्रै त हो बहस गर्ने। आजै सकिन्छ श्रीमान्।’
समयको कुरा चलिरहँदा पन्तले अभियोजनतिर टिप्पणी गर्न थाले, ‘कास्कीमा जम्मा १ अर्ब ५१ करोड हो। यहाँ कसैलाई ५ करोड ८ लाख भनेको छ। कुनैलाई ५ करोड ७८ लाख, तीनजनाको पनि एउटै छैन। तीनजनाको पनि फरक फरक छ, अहिले छुट्याउँला।’
उनले रवि, छवि र जीबीको बारेमा फरकफरक बिगो कायम गरिएको विषयमा आफ्नो बहसमा बताउने संकेत गरे।
सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद सञ्जेल उपस्थित थिए। उनी पोडियमअगाडि उभिए।
‘हामीले त बयान हेर्नै पाएको छैन। बयान पढ्न पर्यो नि श्रीमान्,’ सञ्जेलले आफूलाई बयान बुझ्नका लागि मात्रै कार्यालयबाट पठाइएको उल्लेख गर्दै भने।
बयान बुझेर लगिसकेपछि सरकारी वकिलले इजलासमा रविले आइतबार दिएको बयान पढ्ने बताए। त्यसपछि आजै बहस सुरु गरे पनि तयार रहेको नभए भोलि मात्रै बहस सुरु गर्न अनुरोध गरे। तर उनले आजै बहस सुरु गर्ने हो भने पनि बयान पढिसकेपछि तयार नै रहेको बताए। उनले समय पनि धेरै नरहेको न्यायाधीशलाई ध्यानाकर्षण गराए।
बिहानैदेखि बयानका लागि इजलास अधिकृतसामु उभिइरहेका रविले पनि अनुरोध गरे।
‘मेरो विनम्र अनुरोध छ श्रीमान्, सुरु गरौँ। हाम्रो तर्फबाट छोटो बहस हुन्छ। श्रीमानले समय तोकिदिए पनि हामी त्यति नै समयभित्र बहस सक्न तयार छौँ, तर आजै सकौँ,’ मलीन अनुहारमा रविको अनुरोध थियो।
तर न्यायाधीश अधिकारीले समय तोक्दा पनि आजै बहस सक्न समस्या हुने सुनाए।
‘समय तोक्दा कार्यालय समयमा मात्रै होला,’ आफ्नो दाहिनेतिरको घडीतिर देखाउँदै न्यायाधीशले भने।
‘निश्चित विषयमा मात्रै श्रीमान्,’ रविले प्रस्ट्याउन खोजे।
तर, तिनै पक्षबीच केहीबेर सवालजवाफ भयो। तर आजै बहस सुरु भए पनि नसकिने भन्नेमा तीनै पक्ष प्रष्ट थिए।
इजलासको पछाडि उभिएका रवि पक्षका केही वकिलहरू भन्दै थिए, ‘१२ बजे राति भए पनि आजै सक्नुपर्छ, कहाँ हुन्छ यसरी!’
केहीबेरको सवालजवाफपछि न्यायाधीशभित्रको कोठामा पसे। दुई मिनेटजतिमै आएर भने, ‘लु आजै सुरु गर्ने भए पनि गरौँ। आजै सक्न त समय भएन।’
आजै बहस सुरु नहुने र भए पनि नसकिने भएपछि रविका तर्फबाट भने हिरासतमा नबस्ने विकल्पतिर तर्क मोडियो।
सुशील पन्तले भने, ‘आज सुरु नगर्ने हो भने पनि ठिकै छ श्रीमान्, उहाँहरूलाई (सरकारी वकिल) बयान अध्ययनका लागि समय चाहिन्छ। हामीले पनि उहाँहरूको बहस सुनेर बहस गर्ने हो। हामी यसलाई अन्यथा मान्दैनौँ। तर मेरो पक्षलाई आज परिवारको जिम्मा लगाएर पठाइयोस्। यो विषयमा हामी दुवै पक्ष सहमत छौँ। उहाँहरूले पनि यसमा विमति जनाउनु हुँदैन।’
पन्तले त्यसअघि नै सरकारी वकिलसँग कानेखुसी गरिसकेका थिए।
‘उहाँ आफै उपस्थित भएको हो श्रीमान्, प्रहरीले पक्राउ गरेर ल्याएको होइन। फेरि कास्की प्रहरीले छाडेर उहाँ आउनु भएको हो। यो अवस्था भएकाले उहाँलाई आज प्रहरीको जिम्मा नलगाइयोस्, यस्तो अभ्यास थुप्रै छन्। सर्वोच्चबाट पनि भएको छ यस्तो अभ्यास अन्यत्र पनि छन्,’ पन्तले भने।
रविले थपे, ‘म आफैँ हाजिर हुन आएको हुनाले श्रीमान्। यस्तो अभ्यास पनि भएकाले र प्रक्रियामा पनि गइसकेकाले। मेरो विनम्र अनुरोध हो श्रीमान्।’
‘कि हाम्रो जिम्मा दिनुहोस्, हामी आफैँ पनि तयार छौँ, नभए परिवारको जिम्मामा पठाइदिऊँ,’ रमन श्रेष्ठले भने, ‘हामी दुवैजना (सुशील पन्त र रमन श्रेष्ठ) जिम्मा लिन तयार छौँ, होइन भने सर्वोच्चको पनि प्राक्टिस् छ। बारलाई जिम्मा दिएको छ, वकिललाई जिम्मा दिएको छ सबै खालको प्राक्टिस छ।’
निकैबेर श्रेष्ठ र पन्तको तर्क सुनेपछि न्यायाधीश अधिकारीले भने, ‘इजलासले त सबैलाई बराबर व्यवहार गर्नु पर्ला नि त। फेरि सबैलाई यसैगरी पठाउन पर्ला।’
‘अरुको कुरै भएन श्रीमान्, अरुले मागेको पनि हुनु पर्यो, अरुलाई दिएको छैन भनेर भएन यस्तो प्राक्टिस गर्नुपर्यो,’ श्रेष्ठले तर्क गरे, ‘आजै सक्ने हो भने ९ बजे रातिसम्म बहस गरेर सिध्याउन पनि तयार छौँ। होइन भने आज परिवार वा हाम्रो जिम्मा लगाएर पठाएर भोलि मात्रै बहस सुरु गर्न पनि तयार छौँ, जे गर्न पनि तयार छौँ।’
बयान अध्ययन गर्नका लागि समय मागेका सरकारी वकिलले त्यसपछि आजै बहस सुरु गर्न पनि तयार रहेको बताए।
तर रवि पक्षले भने आज रविलाई हिरासतमा राख्न नहुने, बहस आज गरे पनि भोलि सुरु गरे पनि फरक नपर्ने बतायो। यो सवालजवाफमै ४ बज्यो। दुवै पक्षको कुरा सुनिसकेपछि न्यायाधीश अधिकारीले भने, ‘भोलि मात्रै सुरु गरौँ, अब म आदेश गर्छु।’
केहीबेरको प्रतीक्षापछि न्यायाधीशले भने, ‘मैले सधैँजस्तै आदेश गरेँ, ल आज उहाँलाई प्रहरीको जिम्मा लगाएर पठाऊँ, भोलि सुरु गरौँ।’
‘हुन्छ श्रीमान्, यहाँको आदेश म विनम्रतापूर्वक स–सम्मान स्वीकार गर्छु,’ रविले दुई हात जोडेर नमस्कार गर्दै प्रतिक्रिया दिए।
त्यसअघि नै इजलासमा सादा पोसाकका प्रहरी पुगिसकेका थिए।
केहीबेरमा डीएसपीको कमान्डमा भ्यान लिएर थप टोली जिल्ला अदालत पुग्यो। इजलास आसपासबाट प्रहरीले अरुलाई हटाउँदै गर्दा रवि पत्नी निकिता भने इजलासमा छिरिन्।
बाहिर पनि सुरक्षाकर्मीको संख्या बढाइसकिएको थियो। रवि समर्थक र सञ्चारकर्मीको उपस्थिति अदालत परिसरमा बाक्लै थियो।
साढे ४ बजेतिर आदेशमा हस्ताक्षर गराएर रविलाई जिल्ला प्रहरी परिसरको हिरासतमा लगियो। जहाँ उनी यसअघि बयान दिन कास्कीबाट आउँदा पनि बसेका थिए।
अब उनलाई प्रहरीले सोमबार १० बजेतिर उपस्थित गराउने छ। सोमबार सुरुमा जिल्ला सरकारी वकिलको तर्फबाट बहस हुनेछ। त्यसपछि जाहेरवालाले बहस गर्नेछन्।
अनि, रविको तर्फबाट बहस हुनेछ। सोमबार नै बहस सकिए आदेश हुनेछ नभए उनलाई फेरि हिरासतमै फर्काइनेछ।
Shares

प्रतिक्रिया