जल तथा मौसम विज्ञान विभागले फेरि चेतावनी जारी गर्दै आज देशका विभिन्न स्थानमा ठुलो वर्षा हुने सम्भावना रहेकाले सबै पक्षलाई होसियारी अपनाउन सुझाव दिएको छ।
शनिबार सूचना जारी गरी साउन २ र ३ गते धेरै ठुलो वर्षा हुने सम्भावनाबारे जानकारी दिएको मौसम विभागले फेरि आज (आइतबार) अर्को सूचना जारी गरी सचेत गराएको हो।
‘मिति २०८३/०४/३ गते आइतबार (आज) कोसी बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन हुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ’, विभागले भनेको छ।

काठमाडौँ उपत्यकामा पनि वर्षा जारी रहने
आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार ‘केही बेर मौसम खुलेजस्तो भए पनि फेरि मौसम बदली र वर्षा हुने सम्भावना छ।’
मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ।
‘कतै कतै भारी वर्षा पनि हुन सक्छ तर भारी वर्षाको सम्भावना अलि कम नै देखिएको छ’, उनले भने।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

यो पनि : काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना
Shares

प्रतिक्रिया