समाज


लहानमा अटो रिक्साको कारण ट्राफिक व्यवस्थापनमा समस्या

लहानमा अटो रिक्साको कारण ट्राफिक व्यवस्थापनमा समस्या

नेपालखबर
पुस १५, २०८१ सोमबार ११:२८, काठमाडौँ

व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन  थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ। साँघुरो सडक र जथाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ।

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलिया बताउँछन्। 

उनले भने, ‘अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतनाको कमी भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा र मुख्यतः पूर्व—पश्चिम राजमार्गमै केन्द्रित भइदिँदा समस्या भयो।’  प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्नको लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताए।

अव्यवस्थित रूपमा सञ्चालन गरिएका अटो रिक्सालाई कानुनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ। 

‘सिरहाको सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायतका बजार क्षेत्रमा वास्तविक क्षमता भन्दा बढी सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । दुर्घटनाको स्थिति हेर्दा कहालीलाग्दो छ’, प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘अटो रिक्साको नियमन र बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला नजुट्ने हो भने स्थिति भयावह हुनसक्छ।’

पछिल्लो समय सिरहामा अटो रिक्सा ठुलो सङ्ख्यामा भित्रिरहेका छन्। ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतीका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो। सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रूपमा जथाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उप्रेतीको भनाइ छ। 

चाहिनेभन्दा बढी भएपछि रिक्साले बजार नै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोती बताउँछन्। 

‘सरकारी नीति र प्रस्ट निर्देशिका बन्न नसक्दा यो सवारीसाधन सबैको टाउको दुखाइ बनेको छ,’ उनले भने, ‘बजारमा रिक्साले आतङ्क सिर्जना गरेको छ । नियमन गर्नको लागि स्पष्ट नीति र नियम छैन । रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था पनि छैन । यसले गर्दा दुर्घटना भएपछि कर्तव्य ज्यान मुद्दा आकर्षित हुन्छ।’ 

उनले यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए। 

बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारि लागू गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गरे। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad