समाज


मकवानपुरमा घाँस काट्न गएकी महिला मृत फेला

बाघले आक्रमण गरेको अनुमान
मकवानपुरमा घाँस काट्न गएकी महिला मृत फेला

फाइल तस्बिर


सुनिता विष्ट
पुस १५, २०८१ सोमबार ७:५२, हेटाैँडा

मकवानपुरमा घाँस काट्न घर नजिकैको बारीमा गएकी एक महिला मृत फेला परेकी छन्। बाघको आक्रमणबाट उनको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।

मनहरी गाउँपालिका-५ बसन्तपुरकी ७२ वर्षीया कान्छिमाया रुम्बाको शव आइतबार साँझ घर नजिकै बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रहरीका अनुसार कान्छिमाया आइतबार (हिजो) दिउँसो आफ्नो घर नजिकै बारीमा घाँस काट्न गएकी थिइन्।

आइतबार दिउँसो ४ बजेतिर कान्छिमाया घाँस काट्न घरबाट निस्किएकी आफन्तले बताएका छन्। समयमै घर नफर्किएपछि परिवारजनले खोजी गर्ने क्रममा आइतबार साँझ घरदेखि करिब ५ सय मिटर टाढा छिमेकी किशोर बर्तौलाको बारीमा उनको शव फेला परेको  हो। 

प्रहरीका अनुसार, कान्छीमायाको शवको प्रकृति हेर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको जस्तो देखिन्छ। शरीरका विभिन्न भागमा गहिरा चोटपटक देखिएको छ।

घटनाको जानकारी पाएपछि सुरुमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी निरीक्षक दिलिप पासवानको नेतृत्वमा प्रहरी टाेली घटनास्थल पुगेको थियो। 

थप अनुसन्धानका लागि पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पनि प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको नेतृत्वमा अर्को टोली खटिएको थियो।

प्रहरी निरीक्षक सापकोटाका अनुसार घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको अनुमान गरिएको छ। 

‘त्यो क्षेत्रमा बाघ लुकेर बसेको हुनसक्ने भएकाले स्थानीय समुदायलाई सतर्क रहन पनि  आग्रह गरेका छौँ,’ प्रहरी निरीक्षक सापकोटाले भने, ‘वन क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन भनेका छौँ।’

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र शव परीक्षणपछि घटनाको थप तथ्य सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad