राजनीति


मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ: प्रधानमन्त्री ओली

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ: प्रधानमन्त्री ओली

नेपालखबर
पुस ११, २०८१ बिहिबार १७:१३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ संरक्षण गर्न नसकिने बताएका छन्

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप-२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने धारणा राखेका हुन्।

उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले ३ सयभन्दा बढी बाघ रहेको जानकारी पनि दिए। अरूले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने ओलीले स्पष्ट पारे। 

उनले भने, ‘हामी सन् २००९ मा कोपनेगेन कि कहाँ थियो बाघ सम्मेलन, त्यहाँ गयौँ। हामीसँग बाघ थिए ११० वटा कि कति। डबल गर्ने भनेर हामीले १० वर्षमा डबल गर्ने भन्यौँ। ०१९-०२० तिर पुग्दा डबल बाघ चाहिन्थ्यो, २०१८ मा हामीसँग अढाइ सयभन्दा बढी बाघ भइसके। अहिले साढे ३ सयभन्दा बढी बाघ छन्। जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ। हामीले पनि चाहिने खालका काम गर्नुपर्छ। बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ। डेढ सय बाघ भए पुग्छ।’

बाघ पाल्ने भए नेपालले मित्र राष्ट्रहरूलाई उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने उनको भनाइ थियो।

‘उपहार दिऔँ, हाम्रा मित्रहरूलाई,’ उनले भने, ‘कोही बाज, कोही मयुर पालेका हुन्छन्। त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प। विभिन्न देशलाई उपहार दिऔँ बाघको खोरसमेतै दिनुपर्छ भने नि दिऔँ। तर जति भन्यो, त्यति बाघ बढाउने भन्ने हुँदैन। कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यहीअनुसार जानुपर्छ। मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन। त्यो गल्ती गर्नुहुँदैन। मान्छे ख्वाएर बाघ पाल्ने? अलिअलि खान्छ नि बाघ भएपछि भन्ने, त्यस्तो हुँदैन। आफूलाई खायो भने के हुन्छ? त्यो हेर्नुपर्‍यो नि।’

आफूले बेहोरिरहेको क्षतिको जानकारी दिँदै मानवीय क्षति बेहोरेर बाघ संरक्षण गर्न नसकिने कुरा अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालले स्पष्टसँग राख्नुपर्ने उनको धारणा थियो।

‘अरूले ३० प्रतिशत जंगल राख्छ, हामीले भोकै बसेर ४७ प्रतिशत राख्या छौँ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘रेस्पेक्ट हुनुपर्दैन हाम्रो कन्ससनेसप्रति। त्यसमा क्षतिपूर्ति दिनुपर्दैन। हामीले भनिदिनुपर्छ दुनियाँलाई, होइन भने हामी पनि ३० प्रतिशत राख्छौँ। बाँकी धान, गहुँ फलाउँछौँ, मज्जाले खाएर बस्छौँ। हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ। अरूले हाम्रो चिन्ता नगर्ने, हामीले मात्रै अरूको चिन्ता गर्नुपर्ने? भनिदिनुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad