समाज


१३ वर्षीया बालिकालाई जबर्जस्ती घरमा भित्र्याउने २८ वर्षका युवक पक्राउ

विवाहको चाँजापाँजो मिलाइदिने महिला पनि समातिइन्
१३ वर्षीया बालिकालाई जबर्जस्ती घरमा भित्र्याउने २८ वर्षका युवक पक्राउ

नेपालखबर
पुस १५, २०८१ सोमबार ८:३५, काठमाडौँ

खोटाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती विवाह गरेर घरमा भित्र्याएकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। युवकसँगै प्रहरीले अर्की एक महिलालाई पनि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपा निवासी २८ वर्षीय रमेश राई र उनकी आफन्त कमला राई छन्। 

कमलाले रमेशसँग बालिकाको विवाहको लागि भूमिका निर्वाह गरेको पाइएको छ। 

‘बालिकाका आमाबुवालाई जानकारी नै नदिइ यही पुस ८ गते उनीहरुले बाटोबाटै ती बालिकालाई जबर्जस्ती उठाएर घर लिएर गएका रहेछन्,’ इन्सपेक्टर पोखरेलले नेपालखबरसँग भने, ‘पुस ९ गते विधिवत विवाह गरेर बालिकालाई उनीहरुले घरमा भित्र्याएको हाम्रो अनुसन्धानले देखाएको छ।’ 

उनले पुस १० गते बालिकाको उद्धार गरिएको जानकारी दिए। ‘उद्धारपछि बालिका अहिले अभिभावकको जिम्मामा छिन्,’ पोखरेलले भने। 

कक्षा ८ मा पढ्दै गरेकी ती बालिकाका अभिभावकको भने यस घटनामा कुनै संलग्नता नपाइएको प्रहरीको भनाई छ।  

प्रहरीले यही पुस १२ गते बेहुला रमेश र १३ गते कमलालाई पक्राउ गरेको हो। ‘उनीहरुविरुद्ध बालविवाह अन्तर्गतको कसुरमा मुद्दा चलाइएका छाैँ,’ पोखरेलले भने, ‘घटनाको विषयमा थप अनुसन्धान जारी छ।’

बाल विवाह भएको जानकारी पाएपछि खटिएकाे प्रहरीले फरक–फरक समय तथा ठाउँबाट उनीहरुलाई पक्राउ गरेकाे हाे। उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad