सशस्त्र प्रहरी बलका चारजना उपरीक्षक (एसपी) लाई मुख्यालय झिकाइएको छ। राजस्व संकलनमा गडबढ गरेको गुनासोपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्वयम्भूमा झिकाइएको हो।
सशस्त्र प्रहरी बलका मोरङ जिल्ला प्रमुख एसपी विश्व खड्का, बाराका प्रमुख सन्तोष बहादुर सिंह र बाँकेका प्रमुख बिमल डाँगीलाई मंगलबार हेडक्वार्टर बोलाइएको छ। एकसाता अघि धनुषाका एसपी दर्शन गिरीलाई पनि हेडक्वार्टरले झिकाएको थियो।
राजश्व संकलनमा कमी आएपछि उनीहरुलाई स्पष्टिकरणका लागि बोलाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए।
गृह मन्त्रालय स्रोतले भने उनीहरुको आर्थिक विषयमा गुनासो प्राप्त भएको जनाएको छ।
‘आज जो जोलाई बोलाइएको छ। यी सबैमाथि आर्थिक कुरामा प्रस्न उठ्यो, हामीकहाँ गुनासो प्राप्त भएपछि हेडक्वार्टरलाई कारबाही अगाडी बढाउन भनेका हौँ, थप कारबाही त्यतैबाट हुन्छ’, गृह स्रोतले भन्यो।
डीआईजी न्यौपानेले पनि आर्थिक विषयमै कमजोरी देखिएपछि बोलाइएको बताए। बिगतको महिनामा भन्दा पछिल्ला महिनामा राजस्व संकलनमा कमी आएपछि सोधपुछका लागि झिकाइएको उनले बताए।
गतवर्ष फागुनमा उनीहरुलाई जिल्ला प्रमुखका रुपमा खटाइएको थियो। सामान्यतया एक वर्षमा मात्रै जिल्ला प्रमुख हेरफेर हुने भएपनि उनीहरुको जिम्मेवारीमा प्रस्न उठेको हो। सोधपुछपछि थप निर्णय हुने सशस्त्र प्रहरी प्रवक्ताले बताए।
Shares

प्रतिक्रिया