सुदूरपश्चिम


रुस–युक्रेन युद्धमा ढले छोरा, अधुरै रह्यो घर बनाउने सपना

रुस–युक्रेन युद्धमा ढले छोरा, अधुरै रह्यो घर बनाउने सपना

गोकुल जोशी
पुस ९, २०८१ मंगलबार २१:५५, कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरकी ५७ वर्षीया कमलादेवी बिष्टका आँखा ओभाएका छैनन्। छोरा सम्झेर उनी भक्कानिँदै बेला बेला मुर्छा परिरहेकी छिन्।

घरमा भेला भएका आफन्त छरछिमेकीले उनलाई सान्त्वना दिइरहेका छन्। छोराको बाटो कुरेर बसेकी कमलाले मंगलबार बिहानै अप्रिय खबर सुनिन्। रुसी सेनामा रहेका ३० वर्षीय छोरा लोकेन्द्र ६ महिनादेखि परिवारको सम्पर्कमा थिएनन्।

उनै छोराको निधन भएको दुःखद खबर सुनेपछि आमा कमला सम्हालिन सकेकी छैनन्। लोकेन्द्रका मामा गणेश विष्टले बिहानै लोकेन्द्रसहित १० जना नेपालीको निधन भएको खबर सुनेको बताए।

‘६ महिनादेखि भान्जासँग सम्पर्क भएको थिएन। आज बिहानै रुसमै रहेका भतिजले लोकेन्द्रसहित १० जनाको लिष्ट आएको बताएपछि यकिन भयो,’ उनले भने, ‘परिवारको सहारा भान्जा नै थिए। दुःखद खबरले सबै सपना छणभरमै चकनाचुर भए।’

कमलाको छोरा लोकेन्द्रसँग २७ असारमा अन्तिम कुराकानी भएको थियो। त्यसअघि लोकेन्द्र २/४ दिन बिराएर परिवारसँग सम्पर्क गरिरहन्थे।

‘एक वर्ष पूरा भएपछि फर्किन्छु। जग हालेको घर पूरा बनाउँछु। ऋण तिर्न पैसा कमाएर ल्याउँछु,’ लोकेन्द्रसँग भएको अन्तिम यहीँ कुराकानी सम्झेर कमला भक्कानिन्छन्।

कमलाका तीन छोराछोरी थिए। बिहे गरेर अन्माएकी जेठी छोरी गीता कैलालीको गेटामा बस्छिन्। माइला लोकेन्द्र हुन्। कान्छा छोरा यादव भारतमा काम गर्छन्।

लोकेन्द्रको सुन्दरपुरमा ३ कट्टा ऐलानी जमिन छ। घरको जग हालिएको छ। त्यसमा पिल्लर मात्रै ठडिएका छन्। ती पिल्लर र जग जीर्ण बनेर खण्डहर छ। ४ वर्षदेखि घर निर्माणको काम अधुरै छ।

रुस–युक्रेन युद्धमा लोकेन्द्र ढलेपछि उनको घर लगाउने सपना पनि अपुरै रह्यो। ठूलो सपना बुनेर परिवार पाल्न ऋण काढेर विदेश हानिएका लोकेन्द्र ढलेपछि उनको परिवार विक्षिप्त छ।

‘छोरा मेरो मुटुको टुक्रा थियो। घरको अभिभावक थियो। अब नातिलाई कस्ले पढाउँछ ?, परिवार कस्ले पाल्छ,’ भक्कानिँदै कमला भन्छिन्, ‘बुढेसकालको सहारा थियो। छोराको शव पनि हेर्न पाइन। उसको स्वर्गमा बास होस्।’

लोकेन्द्रका ४ वर्षका छोरा छन्। कमलाले १२ वर्षअघि श्रीमान् गुमाइन्। उनले अहिले छोरा वियोगको पीडा खेप्नु परेको छ। रुस–युक्रेन युद्धले नेपाली परिवार बिछोडिएको छ।

लोकेन्द्रले ८ वर्षअघि गोर्खाकी मिनासँग बिहे गरेका थिए। उनीहरूले करिब २ वर्ष मलेसियामा सँगै काम पनि गरे। प्रेमलाई उनीहरुले बिबाहमा परिणत गरेका थिए।

मलेसियाबाट फर्केर उनले ४ वर्षअघि सुन्दरपुरमा घर बनाउन जग हालेका थिए। लोकेन्द्र वैदेशिक रोजगारीका लागि साउदी अबर, दुबईलगायत ठाउँमा पनि गएका थिए।

‘साउदीबाट फर्केर गाउँमै थिए। कमाइ केही थिएन। घरको खर्च चलाउनै हम्मे हम्मे पर्‍थ्यो,’ लोकेन्द्रका मामा गणेश भन्छन्, ‘परिवार पाल्न ऋण निकालेर रुस गए। आज यस्तो दुखद खबर सुन्नुपर्‍यो।’

लोकेन्द्र मंसिर २१ गते रुसी सेनामा भर्ना भएका थिए। उनीसँगै सुन्दरपुरका विराजन विष्ट र उनका सहोदर भाइ ४१ वर्षीय निराजन पनि थिए। उनीहरू भैरहवा हुँदै दिल्लीबाट रुस पुगेका थिए।

रुस उडेको ६ महिनामै विराजन युद्धमा ढलेका थिए। उनका भाइ निराजन घाइते भएका थिए। उनी अहिले पनि रुसमै छन्।

विदेश जाँदा लोकेन्द्रलाई लागेको ७/८ लाख ऋण अझै तिर्न बाँकी नै छ। रुस सरकारसँग पहल गरेर राहत उपलब्ध गराउन पीडित परिवारले सरकारसँग आग्रह गरेको छ।

लोकेन्द्रको निधन पुष्टि भएपछि परिवारले हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad