गएराति ललितपुरको सातदोबाटोमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ।
सुनसरीको इटहरी घर भइ ललितपुर बस्दै आएका २३ वर्षीय नयन गुरूङको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले डडेल्धुरा घर भई ललितपुर महानगरपालिका ९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टसहित तीन जनालाई पक्राउ गरेको छ।
गएराति सवा नौ बजे ललितपुर महानगरपालिका-९ च्यासलस्थित ‘टाउन अफ क्याफे’मा उक्त घटना भएको हो। पक्राउ परेका भट्ट क्याफेका कामदार भएका प्रहरीले जनाएको छ।
‘खाजा खाएपछि बिल तिर्ने क्रममा यो घटना भएको देखिन्छ,’ एसपी पौडेलले नेपालखबरसँग भने, ‘विवादको क्रममा कामदारले एक्कासी ग्राहकलाई चक्कुले हान्दा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’
चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति बीएन्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।
घटनापछि प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट गएका प्रहरीले क्याफेका संचालक र कुकलाई पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी पौडेलले बताए।
Shares

प्रतिक्रिया