प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ८ हजार ११ एम्पुल र नाइट्राभेट ५ सय ४० ट्याब्लेटसहित १२ जनालाई नियन्त्रणमा समेत लिएको जनाएको छ।
पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका ५ का सरोज पौडेल, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४की उर्मिला तामाङ, धादिङ नीलकण्ठ नगरपालिका १ का राजकुमार गुरुङ र महोत्तरी मटिहानी ८ का इमतियाज नदाफलाई गत फागुन २० गते बालाजुबाट नियन्त्रणमा लिएको जनाएको छ।
सो क्रममा नियन्त्रित लागूऔषध तथा मनोद्दीपक पदार्थ बुप्रेनोर्फिन ३ सय ९६ एम्पुल, डाइजेपाम २ सय ४४ एम्पुल र फेनारगन ४ सय ५ एम्पुलसहित ब्युरो कोटेश्वरबाट पक्राउ गरेको थियो।

उक्त व्यक्तिलाई सोधपुछ गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न थप व्यक्तिबारे खुलासा भएको थियो। सो क्रममा फागुन २२ गते बल्खुबाट अर्का एक जना पक्राउ परेका थिए। प्रहरकिा अनुसार बुप्रोनोर्फिन ३ सय एम्पुल, डाइजेपाम ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुलसहित बारा कलैया उपमहानगर ७ का पचुदास गिरी पक्राउ परेका थिए।
प्रहरीको कारबाही जारी नै रहँदा फागुन २८ मा काठमाडौं गोकर्णेश्वर नगर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६ सय ६० एम्पुल, डाइजेपाम ५ सय ९१ एम्पुल, फेनारगन ६ सय १५ एम्पुल, नाइट्राभेट ५ सय ४० ट्याब्लेट र लागूऔषध कारोबारको रकम १ लाख ९४ हजार ५ सय रुपैयाँसहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल ७ का रवि भन्ने राजिव तामाङ र ओखलढुंगा सिद्धिचरण नगरपालिका ७ का सरोज राईलाई ब्युरोले पक्राउ गरेको थियो।

सोही क्रममा उनीहरुले अरुको समेत नाम पोलेपछि चैत १ गते कलंकीबाटै बुप्रेनार्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल र फेनारगन १ हजार एम्पुलसहित पर्सा वीरगञ्जकी ज्योति बराल पक्राउ परेको ब्युरोले जनाएको छ।
पक्राउ परेका एकबाट अर्कोको नाम खुल्दै जाने क्रम अझै रोकिएन। पछिल्लोपटक भारत विहारका विशाल कुमार र राम विकास कुमार रामलाई समेत बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्पुलसहित पक्राउ गरिएको ब्युरोको भनाइ छ। सो कारोबारमा संलग्न काभ्रेपलाञ्चोक धुलिखेल नगर ६ ठेगाना भएका ६० वर्षीय उद्धव आचार्यलाई समेत वीरगञ्जबाटै पक्राउ गरी ब्युरोले कारबाही अघि बढाएको जनाएको छ।
पछिल्लो कारबाहीमा ९ पुरुष र ३ महिला गरी १२ जना लागूऔषध कारोबारी पक्राउ पर्दा बुप्रेनोर्फिन २ हजार ७ सय ५६ एम्पुल, डाइजेपाम २ हजार ५ सय ३५ एम्पुल, फेनारगन २ हजार ७ सय २० एम्पुल गरी कुल ८ हजार ११ एम्पुल, नाइट्राभेट ५ सय ४० ट्याब्लेट र नगद १ लाख ९४ हजार बरामद भएको ब्युरोले जनाएको छ। पक्राउ परेका सबैविरुद्ध लागूऔषध ऐन २०३३ अनुसार कानुनी कारबाही गरिने ब्युरोले जनाएको छ।
पछिल्लो ३ वर्षमा ब्युरोले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको जनाएको छ।

प्रतिक्रिया