पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहवरमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले रविसँग मंगलबार र बुधबार गरी २३ घण्टा बयान लिएका छन्।
मंगलबार १० घण्टा र बुधबार १३ घण्टा बयान भएको थियो। प्रहीले बुधबार बिहान साढे ८ बजे नै सरकारी वकिलसमक्ष उपस्थित गराएर बयान सुरु गरेको थियो। उनलाई खाजा र खाना समेत सरकारी वकिल कार्यालयमै खुवाइएको थियो। राति साढे ९ बजेपछि मात्रै प्रहरी हिरासत फर्काइएको छ।
सहारा चितवन सहकारीको करिब ३ करोड रुपैयाँ ठगीको आरोप रविमाथि छ। सहकारीको यो रकम कसरी गैरकानुनी रूपमा रवि सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा पुग्यो, त्यसमा क–कसको संलग्नता छ र त्यो रकम कहाँ कसरी परिचालन भयो भन्ने प्रश्नमा उनको बयान केन्द्रित थियो।
गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत सेयर लिएर प्रबन्ध निर्देशकसमेत भएका रविले चितवन सरकारी वकिल कार्यालयमा बयान दिँदा दुई दिनमा ७४ वटा प्रश्नको सामना गर्नुपरेको छ।
स्रोतका अनुसार, उनले आफूले ठगी गर्ने नियतले कुनै काम नगरेको जवाफ दिएका छन्। ‘पैसा कहाँबाट आयो थाहा छैन। प्रबन्ध निर्देशका हैसियतले मैले चेक काटेको हुँ,’ रविको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो।
स्रोतका अनुसार, उनले यसअघि संसदीय समितिमा दिएको बयानकैसँग मिल्ने व्यहोरा चितवनमा पनि टिपाएका छन्।
सहारा चितवन बहुउदेश्यीय सहकारी ठगी प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध यसअघि नै जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। तर, त्यस क्रममा रविलाई प्रतिवादी बनाइएको थिएन। उक्त मुद्दाको अनुसन्धान हुँदा रवि गृहमन्त्री थिए।
प्रहरीले रविलाई प्रतिवादी नै नबनाई मुद्दा बुझाएपछि सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्न निर्देशन दिएको थियो। यति मात्र होइन, सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको रकमको हिसाबकिताब खुल्ने कागजातसमेत प्रहरीले नखोजेको त्यतिखेर सरकारी वकिलले औँल्याएका थिए।
चितवनको भरतपुर महानगरपलिका ३ स्थित केन्द्रीय कार्यालय रहेको यस सहकारीका ४४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा मुद्दा दर्ता भए पनि अनुसन्धानका क्रममा केही कारोबारको विवरण भने प्रहरीले सम्बन्धित निकायबाटै पाउन नसकेको अभियोग पत्रमा पनि उल्लेख गरिएको थियो।
‘सहारा चितवन बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबाट गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के, कसरी, को–को सँग भएको हो, सो को विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरुको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायतका बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन आयो,’ त्यसबेलाको अभियोग पत्रमा भनिएको थियो।
अब रविलाई पनि अभियुक्त कायम गरी पूरक अभियोगपत्रसहित मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकारीले नेपालखबरसँग भन्यो, ‘यता (चितवन)को बयान सकिएकाले अब उहाँ (रवि)लाई पोखरा नै फर्काइदिन्छौँ। त्यहाँ (कास्कीको सूर्यदर्शन सहकारी) को मुद्दा अदालतमा पेस भई थुनछेकको प्रक्रिया भएपछि फेरि झिकाउँछौँ र अभियोगपत्रसाथ अदालतमा पेस गर्छौँ।
रविलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयान सकेर मंगलबार बिहान बिमानमा भरतपुर लगिएको थियो।
कात्तिक २ गते पक्राउ परेका उनलाई पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धानमा तानिएको छ। रविलाई रुपन्देही लगेर समेत बयान गराइएको थियो।
पर्सा प्रहरीले उनका विरुद्ध वीरगन्जको सानो पाइला सहकारी ठगीमा पनि अनुसन्धानका लागि अदालतबाट पक्राउ अनुमति लिइसकेको छ।
रविलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिँदै छ।
-
सहारा सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोडबारे थप अनुसन्धान गरिने
-
सहारा चितवन सहकारी ठगीमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, बिगो ३७ करोड
Shares

प्रतिक्रिया