समाज


भूतपूर्व गोर्खा परिवारको अध्यागमन नियमबारे लन्डनमा अन्तरक्रिया

भूतपूर्व गोर्खा परिवारको अध्यागमन नियमबारे लन्डनमा अन्तरक्रिया

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १०:३६, लन्डन

लन्डनका वरिष्ठ ब्यारिस्टरहरूसँग भूतपूर्व गोर्खा परिवारको अध्यागमनसम्बन्धी नयाँ नियमबारे अन्तरक्रिया गरेको छ।

लन्डनस्थित ‘एभरेस्ट ल सोलिसिटर्स’को आयोजनामा यही डिसेम्बर १ आइतबारका दिन भर्चुअल अन्तरक्रिया गरिएको हो।

अन्तरक्रियामा लन्डनस्थित ल फर्म वान पम्प कोर्टसँग आबद्ध ब्यारिस्टरहरू जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयाँ परिवर्तित नियमबारे जानकारी गराएका थिए।

एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गर्दै ब्यारिस्टरहरूको परिचय दिएका थिए।

१३ वर्षदेखि सञ्चालन भइरहेको उक्त फर्ममार्फत अहिलेसम्म गोर्खा सन्तानका मुद्दा झन्डै ९० प्रतिशत सफल गरी करिब ७ हजार गोर्खालीका सन्तान यूके आइसकेको उनले जानकारी दिए। 

ब्यारिस्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाले कसरी बेलायतमा आवासीय अधिकार प्राप्त गरे र अभियान कसरी सफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगत गराएकी थिइन्।

सन् २०२३ अक्टोबर ५ मा होम अफिसले गोर्खा र हङकङ सैनिकका लागि नयाँ नियम परिवर्तन गरे पनि पछि उक्त नियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरूकै पक्षमा फैसला गरेको उनले बताइन्।

फर्स्ट टिएर ट्राइबुनलले नेसनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको उनको भनाइ छ। 

‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका एकल महिला र तिनका सन्तान सबैलाई बेलायतले भिसा शुल्क नलिने भए पनि त्यसका लागि यथेष्ट प्रमाण जुटाउनुपर्ने, समय धेरै लाग्ने र यसमा धेरै कानुनी झन्झट हुने उनले बताइन्।

अर्की ब्यारिस्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका र दस्तुरबारे स्पष्ट पारिन्।

ब्यारिस्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमा साक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदिबारे प्रस्ट्याइन्।

‘कभरिङ लेटर’मा गल्ती हुन नहुने र आफ्नो बयान झुटो हुन नहुनेमा उनले जोड दिइन्। 

ठेगाना पनि सही आफू बसिरहेकै ठाउँको हुनुपर्ने, स्पोन्सर गर्नेले आफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात आर्थिक निर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा छ।

बैंक स्टेटमेन्ट वा अन्य कागजात नक्कली नबनाउन पनि उनले सुझाइन्।  उनले लामो समयअगाडि बाबुआमा बितिसकेको भए उनीहरूको हकमा भिसा हुने सम्भावना निकै कम रहेको पनि प्रस्ट्याइन्। 

कार्यक्रममा एभरेस्ट ल सोलिसिटर्ससँग आबद्ध सोलिसिटर सैयद इमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad