योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।
मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराएका हुन्।
उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान–श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए।
उनले कोषमा सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै आवद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए।
उनले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताए।
उनले कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिए।
यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सातवटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि गर्ने उनको भनाइ छ।
कार्यकारी निर्देशक अधिकारीले भने, ‘आजसम्म कोषले सञ्चालन गरेका औषधिउपचार तथा मातृत्व योजनामा तीन लाख ७४ हजार एक सय वटा दाबी बापत एक अर्ब ४८ करोड १९ लाख ८ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा सात हजार एक सय १७ वटा दाबी बापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत पाँच सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड गरि ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको अवस्था छ।’
उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताए। उनले कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताए।
Shares

प्रतिक्रिया