समाज


स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ

काठमाडौँबाट कुलेखानी हुँदै माइक्रोमा हेटौँडातर्फ आउँदै थिए
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ

सुनिता विष्ट
मंसिर १०, २०८१ सोमबार ११:५६, हेटाैँडा

स्रोत नखुलेको करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मकवानपुरको हेटौँडा–भैसे सडकखण्डस्थित चौकीटोल नजिकैको प्रहरी चेकपोइन्टबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। 

पक्राउ परेका तीनजना भारतीय नागरिकको साथबाट करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरो फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) विश्वराज खड्काले जानकारी दिए। 

एसपी खड्काको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा.प्र.०३-००१ ज ०७६५ नम्बरको ईभी माइक्रोबसलाई चेकजाँच गर्दा सो परिमाणको रकम फेला परेको हो। 

माइक्रोभित्र सवार भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षका बिजय सिंह कुशवाहको साथमा युएस डलर १२ हजार (नेपाली रुपैयाँ करिब १६ लाख २० हजार), भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २६ वर्षको प्रशान्त पाठकको साथबाट युरो १४ हजार (नेपाली रुपैयाँ करिब १९ लाख ६९ हजार) र भारतको राजस्थान, चित्तौडगढका २३ वर्षीय राहुल कुमार माण्डावतको साथबाट युएस २० हजार डलर (नेपाली करिब २७ लाख रुपैँया) फेला परेको जिल्ला प्रहरी कायाृल्य मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। 

मकवानपुर प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा चेकजाँचको क्रममा यो अवैध मुद्रा पत्ता लागेको हो। 

बसभित्र अन्य यात्रु सामान्य अवस्थामा रहे पनि पक्राउ परेकाहरूको व्यवहार शंकास्पद देखिएपछि प्रहरीले उनीहरूको झोला र शरीरमा खोजतलास गरेको थियो। उनीहरुको झोला र शरीर खानतलासी गर्दा अवैध रूपमा लुकाइ राखिएको विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ। स्रोत नखुलेको उक्त रकम नेपाली ६२ लाख ९० हजार ३५ रुपैयाँ हुन आउने प्रवक्ता अर्यालले बताए। 

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी अनुसन्धान अघि बढाइएको छ। यो प्रकरणलाई राजस्व अनुसन्धान विभाग, मिनभवन, ललितपुरमा पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी अर्यालले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad