नेपालको ५ दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी स्वदेश फर्किएका छन्।
प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका उपेन्द्र द्विवेदी आइतबार बिहान स्वदेश फर्किएका नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।
श्रीमति सुनिता द्विवेदीसहित औपचारिक भ्रमण गरेका उपेन्द्र द्विवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बदिाई गरे। भ्रमणको दौरान द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

द्विवेदीले आफ्नो भ्रमणको दौरान राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राई र प्रधान सेनापति सिग्देलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका थिए।
यस्तै मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईट मार्फत विभिन्न हिमालहरुको अवलोकन समेत उनले गरेका थिए। भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न मद्दत पुगेको नेपाली सेनाको विश्वास छ।
Shares

प्रतिक्रिया