राजनीति


खर्च कटौती गर्न अनावश्यक संरचना कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की

खर्च कटौती गर्न अनावश्यक संरचना कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १३:४२, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन्।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताए। 

एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो प्रवृति रोक्नु पर्नेमा जोड दिए। 
 
राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने बताए। 

‘स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश र स्थानीय तहले गर्नसक्ने कामलाई उनीहरुको क्षमताको आधारमा केन्द्रले अधिकार दिँदै जानुपर्छ।’

एकै दिनमा गर्न सकिने काम पनि लामो समयसम्म रहने प्रवृत्तिको अन्त्य गर्नु पर्नेमा उनले जोड दिए। 

’प्रशासनिक सुधार र राजश्व उठाउने विषयमा जवाफदेहिता र सहकार्यको मोडलबाट काम गर्न सकिएमा नतिजा सकारात्मक आउन सक्छ,’ उनले भने। 

कतिपय अवस्थामा सुधारको लक्षण देखापरे पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार गर्ने प्रवृत्तिले पनि समस्या उत्पन्न हुने गरेको चर्चा गर्दै उनले नकारात्मक कुराहरुलाई निरुत्साहन गर्नुपर्ने बताए। 

कार्यक्रममा कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले असल अभ्यासलाई अन्यत्र लैजाँदै ठूलो पुँजीलाई मात्र होइन साना पुँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए। 

कार्यक्रममा सहभागीहरुले ऐन नियमहरुलाई सहज र सरल बनाइनु पर्ने, नियमनकारी निकायको भूमिका प्रभावकारी बनाइनु पर्ने, संघीय संरचना अनुसारको अधिकारलाई प्रत्यायोजन गरेर काम गर्नुपर्ने, रोजगारमूलक उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, एकै प्रकृतिका सरकारी कार्यालयहरुलाई तीन तहमा विस्तार गर्न नहुने लगायतका सुझाव दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad