समाज


काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने

काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने

नेपालखबर
मंसिर ३, २०८१ सोमबार २०:३३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदुषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहरमात्रै व्यवस्थापन गर्ने तयारी गरेको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ।

यसका लागि कामपाले उत्पादकलाई बढी जिम्मेवार बनाउने तयारी गरेको कामपा वातावरण विभागका प्रमुख सरीता राईले जानकारी दिइन्। प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार फोहरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।  

हाल वडा नं ५, १०, २४, २५ र २६ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ। अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ। स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गर्ने तयारी कामपाले गरेको हो।  

प्रमुख राईले भनिन्, ‘एक स्थानमा उत्पादन भएको फोहर अर्को स्थानमा थुपारेर व्यवस्थापन हुँदैन। यसको सही व्यवस्थापनका लागि स्रोतमै वर्गीकरण गरी मात्रा घटाउनुपर्छ।’  

यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो। अब सबै वडाको फोहर व्यवस्थापन सेवा प्रदायकमार्फत कामपाले गर्ने तयारी गरेको छ।  

हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिकटन फोहर निस्कने गर्छ। साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad