काठमाडौंको तिनकुनेस्थित नेपाल ब्वाइज होस्टलबाट ल्यापटप चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बझाङ छबिस पाथिभरा गाउँपालिका ३ घर भई हाल बानेश्वर बस्ने वर्ष २१ का भीम बहादुर सिंह र कुम्भ राज उपाध्याय रहेका छन्।
उनीहरूले असोज २२ गते तथा २४ गते दिनको समयमा नेपाल ब्वाइज होस्टलमा प्रवेश गरी ५ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पक्राउ परेका भीम र कुम्भलाई यही कात्तिक ३० गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बानेश्वर पठाएको छ।
प्रहरीका अनुसार निजहरुले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा रहेका होस्टलहरुमा आफन्त भेट गर्ने बहाना बनाई प्रवेश गरी अन्य स्थानमा समेत चोरी गरी लगेको खुल्न आएको छ।
उनीहरूले यही कात्तिक २४ गते सुबिधानगर स्थित सुभाषी ब्वाइज होस्टलबाट विराट पौडेलको ल्यापटप चोरी गरेका थिए भने कात्तिक १७ गते तिनकुने स्थित बंगलामुखि होस्टलबाट गितार तथा म्याकबुक चोरी गरी लगेको पाइएको छ।
यस्तै, कात्तिक २८ गते शंखमुलस्थित जेनेरेसन ब्वाइज होस्टलबाट २ वटा ल्यापटप चोरी गरी लगेको प्रहरीले जनाएको छ।
उनीहरूबाट विभिन्न कम्पनीका ल्यापटप–५ थान, गितार–१ थान र विभिन्न कम्पनीका मोबाइल–३ थान बरामद भएको छ।
Shares

प्रतिक्रिया