काठमाडौंको नागढुंगा चेक प्वाइन्टमा सुन जस्तो देखिने पहेँलो धातुसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने वर्ष २७ को कनैया लाल रहेका छन्।
उनको साथबाट सुन जस्तो देखिने पहेंलो धातु ११ टुक्रा (३५६ ग्राम) बरामद भएको प्रहरीले जनाएको छ।
बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८५८ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको हो।
उक्त बसको बी साईडको १४ नं. सिटमा सवार भई आएका कनैया लाललाई शंका लागी चेकजाँच गर्दा उनले गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रंगको टेपले बेरेर लुकाई छिपाई ल्याएको अवस्थामा सुन जस्तो देखिने पहेलो धातु ११ टुक्रा फेला परेको थियो।
पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया