सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशले सोमबारबाटै न्याय सम्पादनका काम सुरु गरेका छन्।
न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका हुन्।
संसदीय सुनुवाइ समितिबाट गत शुक्रबार सर्वसम्मतिले अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा आइतबार नियुक्त गरेका थिए।
यसअघि निरौला उच्च अदालत, पाटनका र पाण्डे उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश थिए।
सर्वोच्चमा न्यायाधीशका रूपमा काम थालेको पहिलो दिन निरौलाले गोला प्रक्रियाबाट इजलास छान्दा एकल इजलास परेको छ भने पाण्डे न्यायाधीश नहकुल सुवेदीसमेत भएको संयुक्त इजलासमा परेका छन्।
करिब २५ हजार विचाराधीन मुद्दा रहेको सर्वोच्च अदालतले न्यायाधीश अभाव झेलिरहेका बेला दुई न्यायाधीश थपिएपछि केही राहत भएको छ। तर, अझै ४ जना न्यायाधीशको पद रिक्त नै छ। संविधानअनुसार सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ। अहिले कार्यरत न्यायाधीशको संख्या १७ पुगेको छ।
सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअगावै पदपूर्तिको व्यवस्था गरिसक्नुपर्ने संवैधानिक तथा कानुनी बाध्यता भए पनि न्याय परिषद्ले यसअघि लामो समयको रिक्ततापछि दुई जना मात्र सिफारिस गरेको हो। त्यो सिफारिस गर्दा पनि नेपाल बार एसोसिएसनले विरोध र अवरोध गरेको थियो।
निरौला र पाण्डेलाई यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको जोडबलमा नियुक्त गरिएको थियो। नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पनि सर्वोच्चमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन सकेका छैनन्।
न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अवकाश नभएसम्म नयाँ न्यायाधीश नियुक्तिको प्रक्रिया रोक्ने बार नेतृत्वको रणनीति छ। आउँदो मंसिर मध्यतिर श्रेष्ठको पदावधि सकिनेछ। त्यसपछि बार नेतृत्वले आफूअनुकूलको सदस्य पठाउन पाउनेछ।
Shares

प्रतिक्रिया