समाज


जापानबाट डिपोर्ट युवाको बयान सुरु, निवर्तमान मन्त्री अधिकारीलाई पनि अनुसन्धानमा तान्ने तयारी

अधिकारी भन्छन् : म फसेँ, दोषी भए कारबाही भोग्छु
जापानबाट डिपोर्ट युवाको बयान सुरु, निवर्तमान मन्त्री अधिकारीलाई पनि अनुसन्धानमा तान्ने तयारी

उजिर कार्की
कात्तिक २३, २०८१ शुक्रबार १८:३०, काठमाडौँ

मन्त्रीसँग गैरकानुनी रुपमा जापान पुगेर डिपोर्ट भएका युवाहरूको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा शुक्रबारदेखि उनीहरूको बयान सुरु भएको काठमाडौँ प्रहरी प्रमुख एसएससपी वसन्त रजौरेले बताए। 

‘हामीले पक्राउ गरेका ६ जना हुन्। तीमध्ये केहीको आजबाट बयान सुरु भएको छ। पक्राउ परेका सबैको बयान सकिएपछि यसमा अरु को–को संलग्न छन् भन्नेबारे खुल्छ, अरु प्रमाण जुटाउन पनि हामी लागिरहेका छौँ,’ रजौरेले नेपालखबरसँग भने। 

उनीहरूको बयानपछि कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीमाथि अनुसन्धान अगाडि बढ्ने अनुमान गरिएको छ। मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित एमालेका सांसद अधिकारीलाई पार्टीले समेत निलम्बन गरेर अनुसन्धानका लागि बाटो खुला गर्ने संकेत गरेको छ। 

मानव तस्करीको गम्भीर आरोप लागेपछि अनुसन्धानमा सबै खालको सहयोग गर्ने बताउँदै उनले आवश्यक परे आफूलाई निलम्बन गर्न पार्टीलाई अनुरोध गरेको बताए।

‘मबाट जे नहुनु थियो गल्ती भइगयो, मैले जानेर बुझेर गरेको गल्ती होइन। म पनि पार्टीकै साथीहरूलाई विश्वास गर्दा फसेँ। तर जब मबाट गलत काम भयो भन्ने थाहा पाएँ, त्यसपछि प्रहरीलाई पनि संलग्न व्यक्तिहरूमाथि र ममाथि पनि अनुसन्धान होस् भनेर सबै सूचना दिएको छु,’ अधिकारीले शुक्रबार दिउँसो नेपालखबरसँग भने। 

अधिकारी सांस्कृतिक कार्यक्रमका लागि भनेर जापान हिँडेका थिए। तर उनले जापान जानका लागि मन्त्रिपरिषदबाट स्वीकृति लिएका थिएनन्। उनीसँगै अरु तीनजना युवालाई जापानको टोकियो विमानस्थलबाट डिपोर्ट गरिएको थियो। ती युवालाई रोजगारीका लागि गैरकानुनी रुपमा पठाएर रकम समेत असुलेको पाइएको छ। 

अधिकारीसँगै जापानको विमानस्थल पुगेका खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कन्चन देवकोटालाई त्यहाँको अध्यागमनले डिपोर्ट गरेको थियो।

डिपोर्ट भएर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूको साथबाट जापान जान बनाइएका नक्कली कागजात पनि बरामद भएको छ। 

जनक राईको साथबाट बरामद परिचय पत्रमा उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायक भनिएको छ। तर परिचयपत्रमा हस्ताक्षर भने निमित्त कार्यालय प्रमुख भनेर मन्त्री अधिकारीको हस्ताक्षर छ। 

अधिकारीले भने आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको दाबी गरेका छन्। 

‘त्यो मेरो हस्ताक्षर होइन। मैले गरेको पनि छैन। सबैकुरा प्रहरीले अनुसन्धान गरिरहेकाले खुल्छ होला। तर मैले नै यी कागजात प्रहरीलाई उपलब्ध गराइसकेको छु। म संलग्न रहेछु भने पनि कारबाही गर्नुस् भनेको छु। त्यसका लागि पार्टी, संसद् जे–जेबाट निलम्बन हुनु छ, म त्यसका लागि तयार छु। तर मलाई अहिले नै दोषी जसरी प्रचार गरियो,’ उनले भने। 

अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन्। यस्तै गृह मन्त्रालयले उनलाई आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको स्रोतको दाबी छ। 

यस्तै एमालेले पनि उनीमाथि थप कारबाही गर्ने तयारी गरेको छ। कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीको बैठक आजभोलि नै बसेर आवश्यक निर्णय लिने बताए। 

‘उहाँले मन्त्रीबाट राजीनामा दिइसक्नु भएको छ। अरु कुरा प्रहरीले पनि अनुसन्धान गरिरहेकै छ। पार्टीबाट पनि आवश्यकता अनुसार निर्णय हुन्छ,’ कार्कीले भने। 

यो विषयको अनुसन्धान अहिले जिल्ला प्रहरी परिसर काठमाडौँले गरिरहेको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूसँग प्रहरीले सोधपुछ गरिसकेको छ। म्याद थप गरेर औपचारिक बयान पनि गराउने क्रममा रहेको छ। 

यसअघि उनीहरूले प्रारम्भिक रुपमा प्रहरीलाई दिएको बयान अनुसार तीनजना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका ९ का वीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका ७ का जुगल रिजाल र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ६ का महेशविक्रम पाण्डे पक्राउ परेका छन्। पक्राउ परेका सबै अभियुक्त र कागजात जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइसकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

पक्राउ परेकामध्ये केहीको शुक्रबारदेखि नै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा औपचारिक बयान सुरु भएको छ। सरकारी वकिल कार्यालयमा बयानका क्रममा उनीहरूले रकम बुझाएरै जापान जान लागेको बताएका छन्। 

‘जाने व्यक्तिको बयान सुरु भएको छ। उनीहरूले रकम तिरेको प्रारम्भिक अनुसन्धानबाटै देखिन्छ पनि। अब बयान सुरु भएको छ बयान सकिँदासम्म यो विषय थप प्रस्ट हुन्छ,’ एक सरकारी वकिलले भने। 

फरार व्यक्तिको खोजी भइरहेको भए पनि निवर्तमान मन्त्रीको संलग्नता कुन तहको हो भन्ने अहिले नै प्रष्ट भइनसकेको अनुसन्धानमा संलग्न अधिकारीले बताए। 

‘उहाँले अनुसन्धानमा केही प्रमाणहरू पनि उपलब्ध गराउनु भएको छ। उहाँ प्रक्रिया पूरा नगरी जापान जान लाग्नु भएको थियो कि योजनाबद्ध रुपमा युवा लैजाने गरी भन्ने खुलेपछि थप कारबाही अगाडि बढ्छ,’ ती अधिकारीले भने। 

यसअघि जापानबाट डिपोर्ट भएका युवाहरूले प्रहरीसँग भने त्यहाँ जानका लागि १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बताएका थिए। प्रहरीले पनि उनीहरूले रकम बुझाएको भन्ने प्रमाणबाटै पुष्टि हुने जनाएको छ। यसरी रकम बुझाएपछि उनीहरूलाई आन्तरिक मन्त्रालयकै कर्मचारीको रुपमा मन्त्रीसँग जापान लगिएको थियो। 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले प्रहरीले को व्यक्ति संलग्न छ भन्नेमा भन्दा पनि कानुन अनुसार जे देखिन्छ सोही अनुसार कारबाहीको दायरामा ल्याउने बताए। 

‘यसअघि पनि तीन जनालाई नियन्त्रणमा लिएपछि अरु देखिएका तीनजना पक्राउ परिसकेका छन्। अब पनि त्यही हो बयान र प्रमाणका आधारमा जो जो संलग्न रहेको देखिन्छ उनीहरू अनुसन्धानको दायरामा आउँछन्, यसमा यो, ऊ भन्ने छैन,’ रजौरेले भने, ‘अनुसन्धान गर्दैछौँ, अहिले धेरै कुरा नभनौँ।’

निवर्तमान मन्त्री अधिकारी भने आफूलाई फसाइएको दाबी गर्छन्। 

‘म आजै गएर पार्टीमा निवेदन दिन्छु। ममाथि जे जे अनुसन्धान गर्नुपर्छ गर्नुस् भन्छु। मबाट केही त्रुटि भएकै हो। तर मैले पैसा खाएर युवालाई विदेश लगेको होइन। म त्यस्तो मान्छे पनि होइन मेरो क्षेत्रमा आएर बुझ्दा पनि हुन्छ,’ उनले भने, ‘मलाई मोरङकै एमाले कार्यकर्ता गोपाल गौतमले फसाए।’

आफूसहित तीन युवा डिपोर्ट हुने थाहा पाएपछि जापानबाटै अधिकारीले विशेष ब्युरोका प्रहरी नायब महानिरीक्षक राजन अधिकारी र कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई जानकारी गराएको बताए।

‘मलाई कार्यक्रममा लाने नाममा कहिल्यै नचिनेका केटा छिराउने दाउ रहेछ प्रतिनिधि बनाएर। मैले चिन्दिनँ भनेपछि रहस्य खुल्यो। भोलि फिर्दैछु। ती केटाले मेरो नक्कली कागजात पनि भएको भनेर भन्दैछन्। नेपालमा चेक गर्नुपर्छ होला ठूलो गल्ती भयो भनेर डीआईजी खापुङलाई म्यासेज पठाएको थिएँ,’ अधिकारी भन्छन्।

खापुङले पनि मन्त्रीलाई ‘ओहो! ल आउनुहोस् सल्लाह गरौँला’ भनेर जवाफ दिएका थिए।

खापुङले भने, ‘मन्त्रीज्यूले म्यासेज पठाउनु भएको हो। मैले पनि छोटो जवाफ दिएको थिएँ। यतै आएपछि सल्लाह गरौँला भनेको हो। यसमा अरु के कसो भएको हो मलाई जानकारी छैन। तर उहाँको म्यासेज आइसकेपछि मैले छोटो जवाफ फर्काएको थिएँ, अब जे जे हुन्छ अनुसन्धान र कानुन अनुसार नै हुने हो।’

यस्तै उनले विशेष ब्युरोका डीआईजी राजन अधिकारीलाई पनि मेसेजमा लेखेका थिए, ‘मलाई जापान कार्यक्रममा ल्याउने मान्छे महेश पाण्डे हो। जो मसँग पहिलो भेट नै यही अक्टोबर २७ तारेख काठमाडौंको एयरपोर्टमा हो। यी कुनै कागज पहिले पठाएन। २५ तारेखमा मात्र टिकट पठाएकाले धन्न क्याबिनेट निर्णय गर्न भ्याइएन।’

उनले फोटोसहित पठाएको म्यासेजमा दाहिनेतर्फ बस्ने गोपाल आफ्नो पुरानो साथी भनेर चिनाएका छन्। आफूले उसैलाई पासपोर्ट दिएको बताएका छन्। 

गोपाल निवर्तमान मन्त्री अधिकारीकै निर्वाचन क्षेत्रका एमाले कार्यकर्ता हुन्। महेशमार्फत काम गोपालले नै गरेको अधिकारीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad