समाज


सत्रकिलो दुर्घटना : मृतकको संख्या ५ पुग्यो, यात्रु भन्छन्- गलत दिशाबाट माइक्रो आएर ठोक्कियो

सत्रकिलो दुर्घटना : मृतकको संख्या ५ पुग्यो, यात्रु भन्छन्- गलत दिशाबाट माइक्रो आएर ठोक्कियो

सुनिता विष्ट
कात्तिक २३, २०८१ शुक्रबार १३:२, मकवानपुर (हेटौंडा)

शुक्रबार (आज) बिहान २ बजे चितवनको भरतपुरबाट काठमाडौँका लागि निस्किएका १९ वर्षका साकिर मियाँ विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस चढे।

चितवनको रत्ननगर नगरपालिका–१३ प्रगतिटोल बस्ने साकिर आज बिहान काठमाडौँ पुग्नु थियो।

विराटनगरबाटै आएका यात्रुहरूले बसको सिटहरू भरिएका थिए। 

जसकारण उनी चालक नजिकैको क्याबिनमा बसेर काठमाडौँ जानका लागि तयार भए। 

साकिरले दिएको जानकारी अनुसार नायारणगढबाट बस करिब ३ बजेतिर गुड्यो। अन्य यात्रुहरू प्रायः निदाइरहेका थिए।

तर उनी भर्खरै बस चढेका थिए। मियाँ निदाइसकेका थिए। बस आफ्नै गतिमा भरतपुर–२९ स्थित १७ किलोमा पुगेको थियो। आफ्नै साइडमा कम गतिमै कुदिरहेको बसको अगाडि एक्कासी माइक्रो भ्यान आएर ठोक्कियो।

‘झ्याम्म गरेको आवाज आएर बसमा ब्रेक लागेपछि मात्रै माइक्रो हामी चढेको बसमा ठोक्कियो भन्ने थाहा पायौँ,’ उनले नेपालखबरसँग भने, ‘अगाडि बसेका हामी २÷३ जना घाइते भयौँ। बसबाट ओर्लिएर हेर्दा माइक्रोमा भएका सबैजनाको अवस्था निकै बिग्रिएको देख्यौँ। चालक त सिटमै च्यापिएका थिए।’

बस आफ्नै साइडमा गुडिरहेको बेला उक्त इलेक्ट्रिक भ्यान आफैँ बसमा ठोक्किन आइपुगेको उनले सुनाए।

त्यसोत आफूहरू चढेको बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस एकआपसमा ठक्कर खाँदा भ्यानमा सवार ५ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

सोही भ्यानमा सवार अर्का एकजनाको अवस्था पनि गम्भीर रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजाल बताउँछन्। उनका अनुसार चालक सहित ६ जना मात्रै सवार रहेको माइक्रो भ्यानमा हालसम्म ५ जनाको ज्यान गएको हो। 

मृतक ५ मध्ये हालसम्म ईभी भ्यान चालक र अर्का एक यात्रुको मात्रै सनाखत भएको प्रवक्ता रिजालको भनाइ छ।

जसमा चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० बर्षका अनोज अधिकारी रहेका छन् भने गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका ४२ बर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ।

मृतक तीनजनाको भने हालसम्म सनाखत हुन नसकेको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए। 

‘न टिकट काटिएको भेटिएको छ। न त चलानी नै छ’, उनले भने, ‘केही प्रमाण पनि छैन। आफन्तहरू प्रहरीको सम्पर्कमा पनि आउनु भएको छैन। चालकको परिवार र गोर्खा घर भएका मृतकको परिवार आफैँ सम्पर्कमा आउनुभएपछि सनाखत भएको हो। अन्य मृतकहरूको सनाखत हुन सकेको छैन।’

प्रवक्ता रिजालका अनुसार मृतक ५ मध्ये ३ पुरुष र एक महिला र एक बालिका रहेका छन्।

बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad