समाज


हनी ट्रयाप प्रकरण : पक्राउ पुर्जी जारी भएपछि इन्सपेक्टर शाही फरार, ४ जना नियन्त्रणमा

हनी ट्रयाप प्रकरण : पक्राउ पुर्जी जारी भएपछि इन्सपेक्टर शाही फरार, ४ जना नियन्त्रणमा

इन्स्पेक्टर बिनुकुमारी शाही, भीमादेवी थापा, दर्शन पोखरेल र ताज स्लाम (क्रमशः)


नेपालखबर
असोज २९, २०८१ मंगलबार २०:२४, काठमाडौँ

‘हनी ट्रयाप’को गिरोहसँग मिलेमतो गरेर व्यवसायीबाट रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई पनि पक्राउ गरेर मुद्दा चलाउने तयारी गरिएको छ।

घटना सार्वजनिक भएपछि गठित छानबिन समितिले शाहीको पनि संलग्नता रहेको निष्कर्षसहित पक्राउ गरेर कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ। उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए। 

‘समितिले दसैँअघि नै प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन तालुक निकायमा पठाइसकेका छौँ। उक्त प्रतिवेदनकै आधारमा प्रहरी सहायक हवल्दार पक्राउ परिसकेका छन्। इन्सपेक्टरको हकमा पनि समितिको सिफारिस कार्यन्वयन हुन्छ। प्रक्रिया अगाडि बढिसकेको छ,’ एसएसपी खनालले नेपालखबरसँग भने। 

प्रहरी निरीक्षक शाही र उनका सवारी चालक हमाललाई निलम्बन गरिसकिएको छ। हमाललाई पक्राउ गरेर गत शुक्रबार नै हिरासतमा राखिएको छ। इन्सपेक्टर शाहीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

स्रोतका अनुसार शाही हाल फरार छिन्। छानबिन समितिले यसअघि घटनाको सन्दर्भमा बुझ्नका लागि उनीसँग सम्पर्क गरेको थियो। तर उनले समितिसमक्ष उपस्थित हुन पनि इन्कार गरेकी थिइन्।

ललितपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ। अर्का आरोपी दर्शन पोखरेल भने हाल फरार छन्। 

व्यवसायीलाई फसाउन इन्सपेक्टर शाहीको सहयोग देखिएको छानबिन समितिको निष्कर्ष छ।

भैँसेपाटी प्रभागमा ल्याएपछि व्यवसायीले आरोपित समूहलाई ३० लाख रुपैयाँ दिएको र रकम बुझाउन जाँदा इन्सपेक्टर शाहीका सवारी चालक पनि साथै गएको खुलेको छ। यस गिरोहसँग प्रहरीसमेत मिलेर व्यवसायीबाट रकम असुलेको छानबिन समितिको ठहर छ। 
यस गिरोहको जालमा ललितपुरका घरजग्गा व्यवसायी परेका थिए। उनी युवतीलाई भेट्न सुनसरीसम्म पुगेको र पूर्वका केही जिल्ला यी युवतीहरूसँग घुमफिर गरेको पाइएको छ।

तर पछि यही समूहले उनीसँग रकमको लागि मोलमोलाइ गर्न पुगेको थियो। सुनसरीबाट सुरु भएको घटना भैँसेपाटी प्रभागमा पुगेर लेनदेनमा टुंगिएको थियो। रकम माग गरेका ताज स्लामले ती व्यवसायीलाई भीमादेवीको खातामा रकम जम्मा गर्न लगाएका थिए। 

भीमादेवीको खातामा रकम जम्मा गर्न जाँदा पनि इन्सपेक्टर शाहीले सवारी चालकलाई सहयोगका लागि पठाएको देखिएको छ। रकम जम्मा गर्न एभरेस्ट बैंकसम्म चालक हमाल पुगेको प्रमाण फेला परेका छन्। 

‘अहिलेसम्मको अनुसन्धानबाट यी व्यक्तिको संलग्नता देखिएको छ। बयान र अनुसन्धान हुँदै जाँदा अरू पनि थपिन सक्छन्,’ एसएसपी खनालले भने। 

घटना बाहिरिएलगत्तै इन्सपेक्टर शाहीलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान अगाडि बढाइएको थियो। उनको मोबाइल पनि ललितपुर परिसरले नियन्त्रणमा लिइसकेको छ। 

उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad