रामेछापका दुई युवक एक सातादेखि सप्तकोसी नदीमा बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मन्थली नगरपालिका १२ का २३ वर्षीय सागर खड्का र १७ वर्षका सेवक खड्का बेपत्ता भएका हुन्।
उनीहरूलाई कात्तिक १४ गते बिहान ८ः५० बजे सप्तकोसी नदीले बगाएको सूचना प्रहरीले प्राप्त गरेको थियो। सूचना आएलगतै नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न युनिटबाट खोजतलास भइरहे पनि फेला पार्न नसकिएको सुनसरी प्रहरीप्ले जानकारी दिएको छ।
बराहाक्षेत्रस्थित सप्तकोसी किनारमा उनीहरूका सामान भने फेला परेका छन्। झोलामा नागरिकता फेला परेको र सोही नागरिकताका आधारमा सुनसरी प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको थियो।
उनीहरू बेपत्ता भएको स्थाननजिकै पूजापाठ गर्दै गरेका सुन्दर हरैँचाका ७८ वर्षीय रामप्रसाद भण्डारीसँग प्रहरीले सोधपुछ गरेको थियो। उनको बयान र सीसीटीभी फुटेजमा पनि दुई जना पौडी खेल्दै गरेको र पछि केही तल पुगेपछि नदीमै बेपत्ता भएको देखिएको छ।
घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर पनि परिचालन गरिएको थियो। तर, गोताखोरले पनि फेला पार्न सकेको छैन। सशस्त्र प्रहरीको प्रदेश विपद् व्यवस्थापनको गोताखोर टोलीले बोटबाट राजाबाससम्म खोजतालास गरेको छ। प्रहरीले आफन्तसहित कोसी किनारमा पनि खोजी गरेको तर फेला पार्न नसकिएको जनाएको छ।
उनीहरूको खोजी गर्न कोसी नदी छेउमा पर्ने सबै एकाइलाई निर्देश गरिएको छ। यस्तै, कोसी ब्यारेजसँग समन्वय गरेर भारततर्फका प्रहरीसँग पनि समन्वय गरिरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया