समाज


रविलाई तिहारलगत्तै बुटवल लगिने

रविलाई तिहारलगत्तै बुटवल लगिने

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १६:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तिहारपछि अनुसन्धानका लागि बुटवल लगिने भएको छ। बुटवलको सुप्रिम सहकारी ठगीको पुरक जाहेरीमा उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल लैजान लागिएको हो। 

जिल्ला अदालत कास्कीले हिरासतमा राख्न दिएको म्याद बुधबार नै सकिएको छ। बिहीबारदेखि अदालत बन्द हुने भएकाले अब प्रहरीले अदालत खुलेकै दिन म्याद थपका लागि उपस्थित गराउनेछ। 

जिल्ला अदालत कास्कीबाट म्याद थप गरिसकेपछि उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीका एक अधिकारीले बताए। उनलाई सूर्यदर्शन सहकारी ठगीको आरोपमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो। 

कास्की प्रहरीले बयान सकेको छ। कास्कीमा पहिलो चरणको बयान सकिएकाले अब बुटवल पठाउने प्रहरीले जनाएको छ।

बयानका क्रममा रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। यसको सम्पुर्ण व्यवस्थापन जीबीले नै गरेको र आफूलाई यस बारेमा थाहा नभएको बताएका छन्। 

उनले सहकारीमा उल्लेख भएको रवि लामिछाने पनि आफू नभएको बताएका छन्। ऋण लिने बेलामा आफूले कहीँ पनि हस्ताक्षर नगरेको उनको दाबी छ। यसअघि कास्की प्रहरीले काठमाडौँ आएर कागज गराउँदा र संसदीय छानविन विशेष समितिलाई पनि यस्तै बयान दिएका थिए। 

यसअघि छविलाल बन्जाडे जोशीलाई भने बुटवल लगेर ल्याइसकिएको छ। कास्कीमा बयान सकिएपछि बन्जाडेलाई बुटवलमा सुप्रिम सहकारी ठगीको आरोपमा प्रहरीले अनुसन्धान गर्न त्यहाँ पुर्‍याएको थियो। 

उनीहरू दुवै जनासहित १४ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। 

त्यसअघि नै छविको बयान सकिएपछि उनलाई पुनः कास्की नै फर्काइएको थियो। अहिले रवि र छवि कास्की प्रहरीको हिरासतमा छन्। उनीहरुले जीबी राईले सञ्चालन गरेका ५ वटा सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप छ।

यही आरोपमा वीरगञ्जको सानो पाइला, चितवनको सहारा र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि अनुसन्धान भइरहेको छ। 

उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad