समाज


छोराको हत्या गर्ने डम्बरले एक हप्ता अघि दाजुलाई चिर्पटले हानेका थिए

छोराको हत्या गर्ने डम्बरले एक हप्ता अघि दाजुलाई चिर्पटले हानेका थिए

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ९:८,

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामका डम्बर चन्दले गत फागुन २२ गते सहोदर दाजु गणेश चन्दलाई चिर्पटले हानेर घाइते बनाए। प्रहरीलाई खबर गरेपछि सोही दिन कुटपिट गर्ने चन्द प्रहरी नियन्त्रणमा पुगे। कुटपिट भएको दोस्रो दिन फागुन २३ गते भाइको कुटाइबाट घाइते भएका गणेश ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगे।

चन्दको मुद्दा सुनुवाइ नभएको एक साता नबित्दै कुटपिट गर्ने डम्बरले बुधबार साँझ आफ्नै छोरा १४ वर्षीय सुर्वणको हत्या गरेका छन्। लामो समयदेखि मादक पदार्थ सेवन गरेर घरेलु हिंसा गर्दै आएका अभियुक्त डम्बरले छोराको घाँटीमा कैँची प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘मलाई कुटपिट गर्दा प्रहरीले जाहेरी लिएर कारवाही बढाएको भए आज यत्रो घटना हुने थिएन’, हत्या गरिएका सुर्वणका जेठाबुबा गणेशले भने, ‘जनप्रतिनिधिलाई फोन गर्दा प्रहरीलाई भन्नुस् भनेर वास्ता गरेनन्।’ बुधबार साँझ बुबाको आक्रमणबाट घाइते भएका चन्दलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयवासीले बिहीबार भीमदत्तनगरपालिका–२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्। ‘वडा प्रतिनिधिले घटना हुँदा कुनै चासो र चिन्ता नलिएको भन्दै वडामा आक्रोश व्यक्त गरे’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कशनानन्द भट्टले भने, ‘अभियुक्त डम्बर पक्राउ परिसकेका छन्।’

उनले सुवर्णको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका अभियुक्त डम्बरले दाजु गणेशलाई भन्दै छोराको हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले हत्याका अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरी प्रवक्ता पौडेलले गत फागुन २२ गते चन्द दाजुभाइको कुटपिट घटनामा प्रहरीले सूचनाका आधारमा डम्बरलाई नियन्त्रणमा लिएको बताए।

‘हामीले दुवै दाजुभाइको स्वास्थ्य परीक्षण गराएर प्रक्रिया अगाडि बढाउँदै गर्दा डम्बरले मादक पदार्थ सेवन गरेको भेटिएपछि हिरासतमा राख्यौँ’, पौडेलले भने, ‘जाँच गर्दै जाँदा डम्बरको शरीरमा पनि नीलडाम देखिएपछि उहाँकी श्रीमतीको रहोवरमा उपचारका लागि पठाएका थियौँ।’

उनले उक्त कुटपिटको घटना पनि प्रहरी अनुसन्धानमै रहेको बताए। ‘गणेश चन्दले आफू कुटिए भन्दै ज्यान मार्ने उद्योगमा मुद्दा ल्याएर आउनुभएको थियो’, उनले भने, ‘तर जाहेरीमा हस्ताक्षर थिएन, पछि प्रहरीमा आउनुभएन।’

प्रवक्ता पौडेलले डम्बरलाई गत फागुन २३ गते उपचारका लागि श्रीमतीको जिम्मा लगाएको जानकारी दिए। ‘डम्बरको विरुद्धमा प्रहरीमा पुगेको जाहेरी दर्ता भएको भए आज सुवर्णले ज्यान गुमाउनु पर्थेन कि भन्ने हो।’ उल्टाखामका एक स्थानीयवासीले भने, ‘प्रहरीले जाहेरीलाई गम्भीररूपमा नलिँदा डम्बरले घटना घटाए।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad