कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ।
काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिई खुसी पार्ने परम्परा रहेको उनले बताए।
लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन समेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ।
यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिने क्रम भने आज साँझदेखि सुरु हुन्छ। यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ।
Shares

प्रतिक्रिया