समाज


सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १७:३८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा यस्तो सेवा निःशुल्क दिने निर्णय गरेका हुन्। 

मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ। हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयको भनाइ छ।

नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये ११ प्रतिशत क्यान्सर रहेको मन्त्रालयको तथ्यांक छ।

नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ। हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार सम्भव तुल्याउन निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए। 

‘समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ,’ उनले भने, ‘तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचारबाट वञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौँ।’ 

मन्त्री पौडेलले कार्यभार सम्हाल्नासाथ राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरेका थिए। 

सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग हुने उपचार शुल्क मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad