प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुट र बेइमान कुरा गर्नेहरुलाई उत्तरदायी बनाउने चेतावनी दिएका छन्।
रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभावी बोल्ने कुराहरुलाई उत्तरदायी बनाउने बताएका हुन्।
एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतवार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू नेतृत्वको सरकार गलत सूचना दिएर मुलुकमा भ्रम फैल्याउनेहरूलाई तह लगाउने हैसियतमा रहेको पनि बताए।
सरकार कमजोर नभएकाले समाजमा अराजकता मच्चाउन खोज्नेहरूलाई उत्तरदायी बनाउने प्रधानमन्त्री ओलीको भनाई थियो। उनले मुलुकका आन्तरिक सुरक्षा कमजोर अवस्थामा पुगेकाले त्यसलाई बलियो बनाउन सरकार लागिपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अब राज्यको काम विस्तारै घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका स्पिचहरु, त्यस्ता जथाभावी बोल्ने कुराहरु, अश्लिल, छाडा, असमाजिक, झुट, बेइमानी त्यस्ता कुराहरुप्रति हरेक व्यक्तिलाई उत्तरदायी बनाउने बाटो सरकारले अब लिन्छ। यो अराजकता सधैँ यसैगरी चल्न सक्दैन। र म भन्न चाहन्छु–यी कुराहरु कार्यान्वयन गर्नका लागि अहिलेको सरकार कमजोर सरकार होइन। यस्ता काम गर्नसक्ने सरकार हो। यस्ता काम अघि बढाउन सक्ने सरकार हो। त्यसकारण यो कुरामा म सबै साथीहरुलाई स्पष्ट रहन आग्रह गर्न चाहन्छु।’
प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरे। उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताए।
मालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो।
प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्ष दलहरुले जनतामा भ्रम छर्ने कोशिस गरिरहेको पनि दोहोर्याए।
Shares

प्रतिक्रिया