नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई समेटेर योजनाहरु बनाएमात्रै जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न सकिने बताएका छन्।
शनिबार काठमाडौँमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन्।
उनले ७५३ वटै सरकारमा पुग्न नसकेसम्म जतिसुकै राम्रो योजना बनाए पनि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न नसकिने बताए। उनले जलवायु परिवर्तनको असर सबैभन्दा बढी दूर दराजमा रहेका नागरिकहरुले भोगिरहेको बताए। उनले लापाको एउटा विषयमात्रै समेटेर सबै स्थानीय तहमा भएका जलवायु परिवर्तनका मुद्दा समेटिन नसकिने गुनासो गरे।
‘हामीले जतिसुकै यहाँ कुरा गरेपनि, जस्तोसुकै राम्रो प्रतिवेदन तयार गरेपनि हामी जबसम्म तल पुग्न सक्दैनौँ, ७५३ वटै सरकारमा पुग्न सक्दैनौँ तबसम्म कार्यक्रमहरु सफल हुन सक्दैनन्,’ उनले भने, ‘सबैभन्दा बढी मार कसले खेपेको छ? दूर दराजमा बस्ने, गाउँमा बस्ने जनताले खेपिरहेका छन् भने मैले प्रतिप्रश्न गर्न खोजेको होइन, लापाको एउटा हरफ देखाएपछि स्थानीय सरकारमा पुग्छ त ? त्यो भन्दा बाहेक के देखिएको छ? त्यतातिर सोच्नका निमित्त आग्रह गर्दछु। तलबाट नगरी माथि राम्रो हुँदैन।’
शासकको रुपमा नभइ सेवकको रुपमा नसोचेसम्म जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न अफ्ठ्यारो हुने बताउनु बताए। जलवायु वित्त नेपालले माग्ने नभइ अधिकारको रुपमा ल्याउनुपर्नेमा उनको जोड छ।
Shares

प्रतिक्रिया