समाज


असुली धन्दा चलाइरहेको महावीर समूहको हर्कत : रकम हिनामिना आरोपमा आफ्नै सदस्यको हत्या

असुली धन्दा चलाइरहेको महावीर समूहको हर्कत : रकम हिनामिना आरोपमा आफ्नै सदस्यको हत्या

उजिर कार्की
कात्तिक ९, २०८१ शुक्रबार १७:५२, काठमाडौँ

कपिलवस्तुमा नेकपा (माओवादी) महावीर समूहका एक सदस्यको हत्या भएको छ।

कात्तिक ४ गते बेलुका पौने ७ बजे कपिलवस्तुको विजयनगर गाउँपालिका–२, खडैचा, भैँसीघाटमा एक पुरुषको शव फेला परेको थियो। 

उक्त शव कपिलवस्तु नगरपालिका-१०, तेनुवाका ४५ वर्षीय दिनेश भन्ने जयप्रकाश यादवको भएको खुलेको छ। यादव नेकपा (माओवादी) महावीर समूहका कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्चार्ज भएको खुलेको छ। पार्टीमा उनी परिवर्तन उपनामले चिनिन्थे। 

तत्काल पहिचान हुन नसकेको उक्त शव यादवको भएको र हत्या उनकै समूहबाट भएको प्रहरीको दाबी छ। हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरञ्जनदत्त भट्टले जानकारी दिए। 

पक्राउ पर्नेमा ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका-५, सेरनाका ४७ वर्षीय रमेश श्रेष्ठ र कपिलवस्तुको वाणगंगा नगरपालिका-२, तिनैयाकी ४६ वर्षीया मनकला थारु रहेकी छन्। 

श्रेष्ठ उक्त समूहको कपिलवस्तु जिल्ला सेक्रेटरी हुन् भने मनकला कपिलवस्तु महिला विभाग प्रमुख हुन्। थारूलाई पार्टीमा गीता उपनामले चिनिन्छ। 

श्रेष्ठ घटनाको मुख्य योजनाकार रहेको र उनले नै यादवको घाँटीमा दाउ तथा चक्कु प्रहार गरेको, सिमेन्टको पोलले प्रहार गरी हत्या गरेर शव बालुवामा खाल्डो खनेर पुरेको एसपी भट्टले बताए। 

चिरई खोलाको किनारामा कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट डीएसपी मोहनमणि अधिकारी र इप्रका गणेशपुरबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्दलगायतको टोली खटिएको थियो। 

शव उत्खनन् गरेर प्रहरीले सुरुमा मृतकको पहिचान गर्ने प्रयास थालेको थियो। पछि शवको सनाखत भएसँगै अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको एसपी भट्टले नेपालखबरलाई बताए। 

अनुसन्धानका क्रममा मृतक र घटनामा संलग्न व्यक्तिहरू महावीर महासचिव रहेको नेकपा (माओवादी) महावीर समूहमा आबद्ध रहेर केन्द्रीय निर्देशनअनुसार कपिलवस्तु जिल्लामा अवैध चन्दा असुली गर्ने गरेको खुलेको छ। 

कपिलवस्तु जिल्ला सेक्रेटरी श्रेष्ठले समुहको नेतृत्व गरी अन्य व्यक्तिहरुलाई समेत परिचालित गर्ने र विभिन्न व्यक्तिहरूलाई धाक धम्की दिई अवैध चन्दा असुली गर्ने कार्य गर्दै आएको खुलेको छ। 

जिल्लालाई १० वटा ईलाकाहरुमा विभाजन गरी सो मध्यको १० नम्बर ईलाकाको रुपमा छुट्याईएको विजयनगर गाउपालिका क्षेत्रको ईलाका इन्चार्जको रुपमा मृतक दिनेश भन्ने जयप्रकाश यादवलाई जिम्मेवारी तोकिएको थियो। 

उनले सो क्षेत्रबाट संकलन गरेको चन्दा रकम हिनामिना गरी पर्टिलाई हिसाव किताव बुझाउन इन्कार गरेको आरोपीहरूले बताएका छन्। 

कात्तिक २ गते निज रमेश श्रेष्ठको नेतृत्वमा सोही समूहमा आवद्ध ९÷१० जनाले दिनेशलाई धारिलो हतियार तथा सिमेन्टको खम्बा समेतले टाउकोमा प्रहार गरी हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। 

हत्यापछि नजिकैको खोलामा लगी शव बालुवाले पुरेर घटनास्थलबाट फरार भएका थिए। घटनाको एकसातापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनामा संलग्न अन्य व्यक्तिहरू भने हाल फरार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad