कोटेश्वरबाट ललितपुरको चाल्नाखेलमा लगेर बन्धक बनाइएकी भनिएकी महिलाले वैदेशिक रोजगारी ठगी गरेको पाइएको छ।
महिलाले आफूलाई केही व्यक्तिले कोटेश्वरबाट अपहरण गरेर चाल्नाखेल पुर्याएको भन्दै उद्धारका लागि प्रहरीलाई टेलिफोन गरेकी थिइन्।
त्यसपछि पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई चाल्नाखेलमा झगडा गरिरहेको अवस्थामा फेला पारेको एसएसपी सानुराम भट्टराईले बताए।
प्रहरीले पीडित भनिएकी महिला र अर्की युवतीलाई चाल्नाखेलबाट नियन्त्रणमा लिएको छ। अर्का युवक भने भागेका छन्।
एसएसपी भट्टराईले भने, ‘उनीहरूको वैदेशिक रोजगारसम्बन्धी लेनदेन रहेछ। २०/२२ लाख रुपैयाँ लिएर ठगी गरेको र वैदेशिक रोजगारीमा नपठाएको भन्ने रहेछ। विदेश जान खोज्ने युवाहरूले पैसा दिएपछि विदेश पनि नपठाएको र पैसा फिर्ता पनि नगरेको विषय रहेछ।’
उनले थपे, ‘यसअघि वैदेशिक रोजगार विभाग र प्रहरी कार्यालय जाँदा पनि पैसा फिर्ता नपाएपछि उनीहरूले आफ्नो पैसा फिर्ता गर्न यो उपाय लगाएको देखिन्छ।’
उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर के भएको रहेछ भन्ने वास्तविक कुरा थप आउने पनि उनले बताए। तर ती महिलाले फोनमा प्रहरीलाई भने जस्तो अपहरण नै गरेको भने नपाइएको प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया