एसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोक ज्यामिरे गाविस–८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
चिनियाँ नागरिकले सञ्चालन गरेको छिसुआन याङ टेक्सटायल प्रालि कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको परेको थियो।
सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित सोही कम्पनीबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोबाइल नम्बरबाट पाटीलाई १ लाख ५० हजार देखि २ लाख रूपैयाँसम्म सहयोग गर्नु पर्यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया