स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्।
यसबाट वार्षिक एक अर्ब बराबर रकम विदेशिनबाट रोकिने र नागरिकको खर्चभार पनि कम हुने दाबी मन्त्रालयले गरेको छ।
फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्कसमेत घटाउने गरी मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन्। अब मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।
एक्सरे फिल्म स्वास्थ्यका लागि समेत हानिकारक मानिन्छ। यसले ठूलो धनराशि विदेशिन्छ र त्यसको भार नागरिकमा पर्छ। मन्त्री पौडेलका अनुसार, यो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमासमेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको छ।
हाल राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गरिरहेको तथ्यांक छ। यसैगरी कान्ति बाल अस्पतालमा करिब तीन करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ।
यस निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।
‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ विदेशिनबाट रोकिने अनुमान गरेका छौँ,’ उनले भने, ‘यसले नागरिकलाई रेडियोलोजी सेवामा लागत कम पर्ने र स्वास्थ्यमा नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौँ।’
Shares

प्रतिक्रिया